
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेपाली ढाका टोपीमा सजिएर सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् । नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताउँदै उनले अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान निर्माणमा नेपाली समुदायको योगदानको प्रशंसा गरेका छन्।
एनआरएनए न्युसाउथवेल्सको आयोजनामा सिड्नीस्थित डार्लिङ हार्बरको टोम्बालुङ पार्कमा भइरहेको फेस्टिभललाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले विविधता नै अस्ट्रेलियाको शक्ति भएको बताए । ‘विविधता हाम्रो शक्ति हो र तपाईंहरू यसको अत्यन्त महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ,’ उनले भने।
उनले विश्वका विभिन्न देश र संस्कृतिका मानिसहरू अस्ट्रेलिया आएर परिवार तथा समुदाय निर्माण गरेकै कारण देश उत्कृष्ट बनेको उल्लेख गरे। बहुसांस्कृतिक समाजको नेतृत्व गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा अल्बानिजले अस्ट्रेलियामा ‘राष्ट्रिय वीरता पुरस्कार’ प्राप्त गर्न सफल नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीको विशेष प्रशंसा गरे। साथै, संयुक्त राष्ट्र सङ्घको महासभाका क्रममा नेपालका प्रधानमन्त्री बालेन शाहसँग भएको भेटलाई पनि स्मरण गरे।
प्राकृतिक विपत्तिका बेला अस्ट्रेलिया सधैँ नेपालको साथमा उभिएको उल्लेख गर्दै उनले आगामी साता जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुँदा नेपालले भोग्दै आएको प्राकृतिक विपत्तिको पीडाबारे समेत आवाज उठाउने बताए।
नेपाली समुदायले अस्ट्रेलियाको विकास र समृद्धिमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै उनले समुदायको सक्रियता र सांस्कृतिक पहिचानको प्रशंसा गरे । कार्यक्रममा न्युसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले पनि अस्ट्रेलियाली नेपाली समुदायको योगदानको सराहना गरेका थिए।
प्रधानमन्त्री अल्बानिजले नेपाल फेस्टिभलमा सहभागी भएका तस्बिरसमेत आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।



















