
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको पेभिलियन उद्घाटन गरेका छन् ।
सोमबार पेभिलियन उद्घाटन गर्दै मन्त्री खनालले नेपालको जलवायुसम्बन्धी प्रतिबद्धता, जैविक विविधता संरक्षणमा भएका उपलब्धि र समुदायस्तरमा भइरहेका जलवायु अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली गम्भीर जोखिममा परेको उल्लेख गरे । हिमनदी र हिमक्षेत्रमा बढ्दै गएका जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले हालै भोटेकोशीमा आएको विनाशकारी विपत्तिलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिए ।
नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमान रूपमा बढी जोखिम बेहोर्नुपरेको उल्लेख गर्दै मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले हानि तथा नोक्सानीसम्बन्धी कोषमा सहज पहुँच र प्रभावकारी अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता पनि औँल्याए । हिमाली क्षेत्रको उत्थानशीलता बढाउन र तल्लो तटीय क्षेत्रको सुरक्षा सुनिश्चित गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।



















