गोवर्द्धन, गोरु र हलिको पूजा गरी मनाइँदै तिहारको पाँचौँ दिन

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ०६:३६
विराटनगर । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदै छ।
आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोत्तम भट्टराईले बताए।
बलि, हलि र गोरु पूजा
भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ। यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो।
वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ।
यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.