चाडपर्वलक्षित सुरक्षाः कोशीमा ८ हजारभन्दा बढी प्रहरी परिचालन

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ११:२१

विराटनगर । तिहारका बेला हुन सक्ने चोरी, लुटपाट, जुवातास, पटका प्रयोग र अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न कोशी प्रदेशमा ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले नियमित सुरक्षासँगै विशेष निगरानी र गस्ती बढाएको हो ।

तिहारमा देउसीभैलो, सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधिसँगै बजार तथा सार्वजनिक स्थलमा मानिसको चहलपहल बढ्ने भएकाले प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर मोबाइल गस्ती, सादा पोसाकका प्रहरी र विशेष निगरानी टोलीसमेत परिचालन गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार सुरक्षा चुनौतीको मूल्यांकन गरी प्रदेशभर प्रहरी परिचालन गरिएको हो । नियमित ड्युटीबाहेक शङ्कास्पद गतिविधि हुन सक्ने स्थानमा थप निगरानी राखिएको उनले बताए ।

तिहारका बेला जुवातास खेल्ने तथा खेलाउने गतिविधि बढ्न सक्ने भएकाले होटल, रेस्टुरेन्ट, सार्वजनिक स्थल र शङ्कास्पद स्थानमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । चोरी, लुटपाट, तस्करी तथा प्रतिबन्धित पटका प्रयोग नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने विवाद र सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधिमाथि समेत निगरानी बढाइएको छ ।

चाडपर्वमा घर, पसल र सार्वजनिक स्थानमा झिलिमिली बत्ती बाल्ने चलन बढ्ने भएकाले प्रहरीले आगलागीको जोखिमप्रति पनि सचेत गराएको छ । विद्युतीय सामग्री जडान गर्दा सावधानी अपनाउन, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र बत्ती बालेर लामो समय बेवास्ता नगर्न प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, देउसीभैलो खेल्दा अरूलाई असर नपर्ने गरी समय र स्थानको ख्याल गर्न तथा प्रतिबन्धित पटका र विस्फोटक पदार्थ प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै एकअर्काको चाडपर्व र परम्पराको सम्मान गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

कानुनविपरीत जुवातास खेल्ने, प्रतिबन्धित पटका पड्काउने, चोरी, तस्करी वा अन्य गैरकानुनी गतिविधिमा संलग्न भएको पाइए कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । प्रदेशभरका प्रहरी इकाइलाई सतर्क अवस्थामा राखिएको जनाउँदै प्रहरीले कुनै शङ्कास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.