नेपाल संवत् ११४७ सुरु, विराटनगरमा सांस्कृतिक र्‍याली (फोटो फिचर)

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १८:४४

विराटनगर । नेपाल संवत् ११४७ को नयाँ वर्ष देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली तथा शुभकामना आदानप्रदान गरी मनाइएको छ। नयाँ वर्षको अवसरमा विराटनगरमा नेवार समुदायले परम्परागत वेशभूषा, बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित मोटरसाइकल र्‍याली निकालेर उत्सव मनाएका छन्।

विशेषगरी नेवार समुदायले नेपाल संवत्लाई आफ्नो मौलिक नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। विराटनगरस्थित झिः पुचबाट सुरु भएको मोटरसाइकल र्‍याली ट्राफिक चोक, कलेज रोड, रोडशेष चोक, रानीस्थित आइसीपी मोड, मिल्स एरिया, महेन्द्र चोक, बरगाछी, कञ्चनबारी, ठूलो मिल चोक, तीनपैनी र मेनरोड हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको थियो।

परम्परागत वेशभूषामा सजिएका सहभागीले बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित नयाँ वर्षको स्वागत गरेका थिए। र्‍यालीका क्रममा विभिन्न स्थानमा सहभागीलाई अण्डा, चिउरा, भटमास, सिद्रा र मदिरासहितको परम्परागत परिकार ‘सगुन’ प्रदान गरी स्वागत गरिएको थियो। र्‍यालीले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई झल्काएको थियो।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले म्ह: पूजा गर्ने परम्परासमेत छ। म्ह: पूजामा आफ्नै शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गरिन्छ। यस पर्वले मानिसको अस्तित्व, आत्मसम्मान र प्रकृतिसँगको सम्बन्धलाई समेत महत्त्व दिएको मानिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.