सूर्य उपासनाको महापर्व छठ सुरु

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार ०६:५६

महोत्तरी । सूर्य उपासनाको महापर्व छठ सुरु भएसँगै मिथिला क्षेत्रका गाउँबस्तीदेखि बजारसम्म उत्सवमय बनेका छन् । कात्तिक शुक्ल चतुर्थी अर्थात् शुक्रबारदेखि सुरु भएको चारदिने पर्वका लागि घरपरिवार, टोल र समुदायमा तयारी तीव्र पारिएको छ ।

छठको आगमनसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने नदी, पोखरी र जलाशयका किनारमा छठघाट सजाउने कामले तीव्रता पाएको छ । कतै युवाहरू सामूहिक रूपमा घाट निर्माण र सरसफाइमा जुटेका छन् त कतै घरका आँगनदेखि सडकसम्म सफा गरेर बत्ती र सजावटका सामग्री राखिएका छन् ।

मिथिलाको जनजीवन अहिले छठमय बनेको छ । घरघरमा छठका गीत बज्न थालेका छन् । परिवारका सदस्यहरू पूजाका सामग्री जुटाउन, प्रसाद बनाउन र घरको सरसफाइ गर्न व्यस्त छन् । पर्वको तयारीले दैनिक कामकाजसमेत छठकेन्द्रित बनेको छ ।

पर्वको चहलपहलले स्थानीय बजारमा समेत व्यापार बढाएको छ । केराका घरी, उखु, अदुवा, बेसारका बोट, ज्यामिरलगायत पूजामा आवश्यक सामग्रीको माग बढेको छ । स्थानीय किसानले पनि पर्वलाई लक्षित गरी कृषि उपज बजारमा बिक्रीका लागि ल्याउने तयारी गरेका छन् । यस्ता सामग्रीको मुख्य कारोबार शनिबार हुनेछ ।

छठका लागि बाँस र माटाबाट बनेका परम्परागत सामग्रीको माग पनि उत्तिकै छ । ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पंखा किन्नेको भिड लागेको छ । माटाका दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीको बिक्रीसमेत बढेको छ । छठ पूजामा नयाँ भाँडाको प्रयोग गर्ने परम्पराका कारण यस्ता सामग्रीको माग बढ्ने गरेको छ ।

पर्वको अर्को महत्त्वपूर्ण तयारी प्रसाद निर्माण हो । घरघरमा ठकुवा, भुसुवा र अन्य परिकार बनाउने काम सुरु भएको छ । चामल र गहुँलाई ढिकी तथा जाँतोमा कुटेर र पिँधेर पिठो बनाउने पुरानो चलन अझै कायम छ । प्रसाद निर्माणमा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ । छठमा विधि र निष्ठाको विशेष महत्त्व हुन्छ ।

चार दिनसम्म चल्ने छठको पहिलो दिन नहाय–खाय गरिन्छ । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुन्छ ।

छठ धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सामूहिक एकताको पर्वका रूपमा पनि स्थापित छ । यस पर्वमा पुराना मनमुटाव बिर्सेर परिवार, आफन्त र समुदायका मानिस एकै ठाउँमा भेला हुन्छन् । जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर एउटै घाटमा सँगसँगै पूजा गर्ने परम्पराले सामाजिक एकताको सन्देशसमेत दिने गरेको छ ।

सूर्यदेव र षष्ठीदेवीको आराधना गरी सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिने छठ मिथिला क्षेत्रको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । अहिले पहाडी क्षेत्रमा समेत छठ मनाउन थालिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.