बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क बन्ने

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार ०९:११

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ ।

पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । पोखरा र काठमाडौंबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो ।

पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ । विशाल झण्डासहितको पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाइएको छ ।

झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ । हालसम्म १५ लाख रुपैयाँभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।

पार्क निर्माणको योजना र विशाल झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउने तथा प्रचारप्रसार गर्ने उद्देश्यले झण्डा प्रदर्शन गरिएको हो । झण्डा सार्वजनिक भएपछि निर्माणाधीन पार्कबारे स्थानीयवासी तथा बन्दीपुर भ्रमणमा आउने पर्यटकलाई जानकारी पुग्ने अपेक्षा गरिएको छ ।

पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरेका छन् । यस क्रममा आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ । तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना रहेको स्थानीय अगुवा बासु पन्तले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.