कोशीसहित ६ प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १०:४२

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत कोशीसहित ६ प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा भएको हो ।

बागमती प्रदेशका प्रतिष्ठानको तथ्यांक प्रशोधन भइरहेको गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार प्रशोधन गरिएका करिब ११ लाख प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अङ्कगत असङ्गति सच्याएर तथ्यांकको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ ।

आर्थिक गणनामा कुल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए । गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा सङ्कलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छन् ।

प्रतिष्ठानको प्रकृतिअनुसार औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताए । कागजी तथा डिजिटल फाराममा सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उनले जानकारी दिए ।

गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्थासम्बन्धी प्रतिष्ठानको विवरण समेटिएको छ । तथ्यांक प्रविष्टि तथा प्रशोधनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।

आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासमा हुने लगानीले सिर्जना गर्ने रोजगारी, वस्तु उत्पादन तथा समग्र अर्थतन्त्रमा पार्ने प्रभाव विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.