१० लाख क्षतिपूर्तिसहित रोजगारीको माग, १४ शव अस्पतालमै

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १२:०१

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका आफन्तले विभिन्न माग अघि सार्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

मृतक परिवारले प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडानमा आफन्तहरू छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मृतकका आफन्तसँग मागका विषयमा छलफल र परामर्श भइरहेको छ । प्रशासनले कानुनले व्यवस्था गरेअनुसारको क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने स्पष्ट पारेको छ । तर, आफन्तहरूले कानुनी व्यवस्थाभन्दा बढी राहतको माग गरिरहेका छन् ।

बिहीबार बिहान मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेहरूको हेटौंडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक सबैको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । आफन्तहरू अस्पताल परिसरमै बसेर माग पूरा गर्न दबाब दिइरहेका छन् ।

दुर्घटनापछि मृतकका परिवारको तर्फबाट सर्लाहीका स्थानीय नेता सञ्जय यादवले क्षतिपूर्तिलगायतका माग अघि सार्दै नेतृत्व गरिरहेका छन् । बिहीबार शवको पोस्टमार्टम गर्ने तयारी भए पनि आफन्तको असहमतिका कारण प्रक्रिया अघि बढ्न सकेन ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनबमोजिम पाउनुपर्ने क्षतिपूर्ति लिन अस्वीकार गरिए प्रशासनले पोस्टमार्टम तथा शव व्यवस्थापनको प्रक्रिया कानुनअनुसार अघि बढाउने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.