
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मृतकका परिवार र घाइतेले पाउनुपर्ने रकमका लागि सवारीधनी, यातायात व्यवसायी तथा बिमा कम्पनीसँग समन्वय भइरहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार प्रक्रिया अघि बढाइएको सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन् ।
सरकारले घाइतेको उपचारमा कुनै कमी हुन नदिन अस्पतालहरूलाई निर्देशन दिएको छ । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् भने अन्य तीन जनाको चितवन र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ ।
तर, मृतकका आफन्तले भने क्षतिपूर्तिसहितका माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । उनीहरूले मृतक परिवारलाई जनही १० लाख रुपैयाँ दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने माग गरेका छन् ।
यसैबीच, दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।


























