
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शीर्ष स्थानको दौडमा रहेको सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो । सुरुवातमै खराब प्रदर्शन गर्दै ८ रन जोड्दा चार विकेट गुमाएको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए ।
संकटपूर्ण अवस्थामा क्रिजमा आएका ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ६० रनको महत्वपूर्ण योगदान दिए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । ऐरीले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको साझेदारी गरे । आरिफ १६ रन बनाएर रनआउट भएपछि आएका थरिन्दु रत्नायकेसँग पनि ऐरीले छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरे ।
थरिन्दुले आक्रामक ब्याटिङ गर्दै २३ बलमा दुई छक्कासहित अविजित २६ रन बनाए । ऐरी र थरिन्दुको महत्वपूर्ण साझेदारीका कारण सुरुवातमै दबाबमा परेको सुदूरपश्चिम सम्मानजनक योगफलसम्म पुग्न सफल भयो ।
काठमान्डुका लागि सन्तोष यादव र जहानन्दन खानले समान दुई–दुई विकेट लिए । अब काठमान्डुले जितका लागि निर्धारित २० ओभरमा १२६ रन बनाउनुपर्नेछ ।

























