
काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आइतबार परेको छठ पर्वको अवसरमा यसअघि नै सार्वजनिक बिदा घोषणा गरिसकेको थियो । छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु गरिएको पूजा भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुने परम्परा रहेकाले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार भोलिपल्टसमेत बिदा दिने निर्णय गरिएको उल्लेख छ ।


























