पुल भत्किएपछि दोधारा चाँदनीको पर्यटन व्यवसाय सुनसान ठप्प

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १३:५९

महेन्द्रनगर । महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुंगे पुल भत्काएपछि पुल आसपासका होटल तथा पर्यटन व्यवसाय संकटमा परेका छन् । पुलमा आवागमन बन्द गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेको छ भने स्थानीय व्यवसायीको आम्दानीसमेत ठप्पजस्तै बनेको छ ।

गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुंगे पुलको एउटा पिल्लर भत्काएको थियो । त्यसपछि स्थानीय प्रशासनले सुरक्षाका दृष्टिले पुलको दुवैतर्फ आवागमन बन्द गरेको छ । पुल बन्द हुँदा पर्यटकको चहलपहल घटेसँगै आसपासका होटल तथा अन्य व्यवसाय प्रभावित भएका हुन् ।

स्थानीय होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार पुल बन्द भएपछि व्यवसायमा ठूलो असर परेको छ । पुलको दुवैतर्फ आवागमन रोकिँदा होटल व्यवसाय नै संकटमा परेको उनले बताए ।

“पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो । स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ । हिँडडुल पूर्ण रूपमा बन्द हुँदा व्यापार व्यवसाय धराशायी बन्यो”, सिंहले भने ।

उनका अनुसार दसैँ र तिहारको समयमा यस क्षेत्रमा पर्यटकको चाप बढी हुने भएकाले व्यवसायीको वार्षिक आम्दानीको ठूलो हिस्सा यही समयमा हुने गरेको थियो । तर, यस वर्ष पुल बन्द हुँदा पर्यटकको आवागमन प्रभावित भएको छ ।

“दसैँ–तिहारका बेला यहाँ पर्यटकको आवागमन धेरै हुन्थ्यो । हाम्रो पनि वर्षभरिको कमाइ यही बेला हुन्थ्यो”, उनले भने, “अझै पनि चार लेनको पुल हुँदै झोलुंगे पुल हेर्न केही पर्यटक आउँछन्, तर सहज रूपमा अवलोकन गर्ने वातावरण छैन ।”

सिंहका अनुसार झोलुंगे पुल दूरीका हिसाबले छोटो मार्ग भएकाले स्थानीय बासिन्दाले समेत दुईपाङ्ग्रे सवारीसाधन तथा पैदल यात्राका लागि प्रयोग गर्दै आएका थिए । पुल बन्द भएपछि स्थानीयको आवागमनसँगै पर्यटन व्यवसायमा समेत असर परेको छ ।

महाकाली नदीमा पानीको सतह घटिसकेकाले अब सरकारले पुल पुनर्निर्माणको काम सुरु गर्नुपर्ने उनको माग छ । पुल सञ्चालनमा नआएसम्म आसपासका व्यवसायीको अवस्था सुधार नहुने उनले बताए ।

“पहिले दैनिक आठदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । अहिले त व्यापार ठप्पजस्तै भएको छ”, सिंहले भने ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले पनि चाडपर्वका बेला पर्यटकले भरिभराउ हुने झोलुंगे पुल यस वर्ष सुनसान बनेको बताए । उनका अनुसार दसैँ–तिहारको समयमा दैनिक दुईदेखि तीन हजारसम्म पर्यटक पुल अवलोकनका लागि आउने गरेका थिए ।

हिउँदको समयमा शैक्षिक भ्रमणका कारण पनि यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने र स्थानीय व्यवसायले राम्रो आम्दानी गर्ने गरेको बोहराको भनाइ छ । तर, पुल बन्द भएपछि होटल तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा समेत नकारात्मक प्रभाव परेको छ ।

पुल पुनर्निर्माणका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिँदै वडाध्यक्ष बोहराले पुल भत्किएपछि अवस्था बुझ्न विभिन्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू पुगे पनि निर्माण कार्य अघि बढाउने ठोस पहल नदेखिएको बताए ।

पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ खर्च लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्षसम्म समय लाग्न सक्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ । यता सुदूरपश्चिम प्रदेश सरकारले पुल पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैबीच कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । उनका अनुसार दोधारा चाँदनी झोलुंगे पुल स्थानीयको आवागमन सहज बनाउने माध्यम मात्र नभई कञ्चनपुरको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक हो । पुल बन्द हुँदा पर्यटनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमान्डुलाई १२६ रनको लक्ष्य
विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा कार्कीको अनिच्छा, प्रधानमन्त्री कार्यालयको पत्र नै अस्वीकार
पुल भत्किएपछि दोधारा चाँदनीको पर्यटन व्यवसाय सुनसान ठप्प
भीमफेदी दुर्घटना : क्षतिपूर्तिको प्रक्रिया अघि बढेको सरकारको दाबी
सरकारको सेयर लगानी ४ खर्ब १३ अर्ब पुग्यो
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्च अदालतमा थपिए चार नयाँ न्यायाधीश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.