विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १४:५४

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा जग्गाको कित्ताकाटसम्बन्धी अवरोध हटेको छ । भू–उपयोग क्षेत्र वर्गीकरणको काम टुंग्याएर महानगरपालिकाले विवरण नापी कार्यालयमा पठाएसँगै लामो समयदेखि रोकिएको जग्गा विभाजन तथा कित्ताकाटको प्रक्रिया अघि बढ्ने भएको हो ।

कित्ताकाटका लागि आवश्यक वर्गीकरणसम्बन्धी काम पूरा भएपछि जग्गाधनीले भोग्दै आएको प्रशासनिक झन्झट हट्ने अपेक्षा गरिएको छ । महानगरपालिकाले शुक्रबार नापी कार्यालय विराटनगरलाई पत्र पठाएर वर्गीकरणको अन्तिम प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

नगर कार्यपालिकाको असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषदबाट स्वीकृत आधार र मापदण्डका आधारमा वर्गीकरण गरिएको महानगरले जनाएको छ । प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्यांक फाइल र तथ्यांक भण्डारण प्रणालीसम्बन्धी कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा पठाइएको छ ।

कित्ताकाट रोकिँदा जग्गा किनबेच, अंशबन्डा तथा परिवारका सदस्यबीच जग्गा छुट्याउने काम प्रभावित हुँदै आएको थियो । अब वर्गीकरणको विवरण सम्बन्धित कार्यालयमा पुगेपछि यस्ता कामले गति लिने महानगरको अपेक्षा छ ।

यसैबीच, महानगरपालिकाले जग्गासम्बन्धी सेवा प्रवाहलाई थप सहज बनाउन भू–सेवा सञ्चालनको तयारी पनि थालेको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए ।

उनका अनुसार भू–सेवा सञ्चालन भएपछि जग्गासम्बन्धी प्रशासनिक काममा प्रविधिको प्रयोग बढ्नेछ । सेवाग्राहीले सामान्य कामका लागि पनि धेरै समय खर्चिनुपर्ने अवस्था अन्त्य गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र व्यवस्थित बनाउने महानगरको योजना छ ।

‘महानगरपालिकाभित्र भू–उपयोग वर्गीकरणको काम पूरा गरेर आवश्यक विवरण सम्बन्धित कार्यालयमा पठाइसकेका छौँ । अब जग्गाको कित्ताकाटसम्बन्धी कामले गति लिने अपेक्षा गरेका छौँ,’ कोइरालाले भने, ‘भू–सेवालाई पनि आगामी एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेका छौँ । सेवाग्राहीले सहज, छिटो र व्यवस्थित सेवा पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।’

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार भू–सेवा सञ्चालनका लागि प्राविधिक र प्रशासनिक तयारी सुरु गरिएको छ । प्रणाली व्यवस्थापनसहित आवश्यक काम अघि बढाइएको र एक महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए ।

‘भू–सेवा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ । प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित गर्दै आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ,’ शर्माले भने, यसबाट जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले भोग्दै आएका झन्झट कम हुनेछन् र सेवा प्रवाह थप छिटो, सहज तथा प्रभावकारी बन्नेछ ।’

महानगरका सूचना अधिकारी अर्जुन थपलियाले १९ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया अघि बढ्नु जग्गाधनीका लागि राहतको विषय भएको बताए ।

कित्ताकाटसम्बन्धी अवरोध हटेसँगै रोकिएका जग्गासम्बन्धी काम अघि बढ्ने र भू–सेवा सञ्चालनमा आएपछि प्रशासनिक प्रक्रिया अझ सहज हुने महानगरको विश्वास छ । वर्गीकरण, कित्ताकाट र प्रविधिमा आधारित सेवा प्रवाहलाई एकैसाथ अघि बढाएर महानगरले घरजग्गा प्रशासनलाई व्यवस्थित बनाउने प्रयास गरेको छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो
युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु
सरकारले दियो सार्वजनिक बिदा
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमान्डुलाई १२६ रनको लक्ष्य
विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा कार्कीको अनिच्छा, प्रधानमन्त्री कार्यालयको पत्र नै अस्वीकार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.