
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) पाँचवटा प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको हो । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पनि मौसम बदली भई एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, कोशी प्रदेशसहित मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान छ । अन्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।
यसैबीच, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन तथा यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ ।

























