
काठमाडौं । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।
पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। बढी तौल र मोटोपना यसको प्रमुख कारणमध्ये रहेका छन् । मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवन नगर्दा टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिन्छ ।
चिकित्सकहरूका अनुसार मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिन्छ । नियमित उपचारसँगै जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छ ।
मधुमेहबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले बताए । टाइप–१ मधुमेह छिटो विकसित हुन सक्छ भने टाइप–२ मधुमेह विस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ ।
डा. भट्टराईका अनुसार मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास भएका तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेह परीक्षण गराउनुपर्छ । ‘३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ,’ उनले भने।

























