
जनकपुरधाम । छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित तराई-मधेशका बजारमा केराको किनबेच बढेको छ । छठमा केरालाई मुख्य प्रसादका रूपमा चढाउने परम्परा रहेकाले बजारमा यसको माग बढेको हो ।
यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीले बताएका छन् । तर, मूल्य महँगिएको भन्दै उपभोक्ताले भने असन्तुष्टि जनाएका छन् ।
जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यसपटक कैलालीको टीकापुर, नवलपरासी, चितवन, हेटौँडा, निजगढदेखि पूर्वको बिर्तामोड र इनरुवालगायत क्षेत्रबाट केरा आपूर्ति भइरहेको छ । बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि १२ सय रुपैयाँसम्म र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
स्वदेशी उत्पादन बढेकाले केराको अभाव नहुने अध्यक्ष यादवको दाबी छ । तर, सहज उपलब्धता भए पनि मूल्य भने उपभोक्ताको गुनासोको विषय बनेको छ । विगतमा भारतबाट केरा आयात हुँदा मूल्यमा प्रतिस्पर्धा हुने र सस्तोमा किन्न पाइने गरेको उपभोक्ताको भनाइ छ । यसपटक व्यापारीले एउटा घरीको १५ सय रुपैयाँसम्म माग्ने गरेको भन्दै उनीहरूले मूल्य नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा केरासहितका फलफूल चढाउने चलन छ । त्यसैले पर्वको मुख्य दिन नजिकिँदै गर्दा बजारमा केराको कारोबार थप बढेको व्यवसायी बताउँछन् । आज खरना विधि मनाइँदै छ । छठको मुख्य दिन भोलि साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन हुनेछ ।

























