
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध उजागर गर्दै सामाजिक सद्भाव, आपसी एकता र भाइचारालाई प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा रहेको छठ पर्व सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित विशिष्ट पर्व भएको उनले उल्लेख गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान बोकेको नेपाली समाजमा छठले सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावनालाई थप बलियो बनाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
कोशी प्रदेश सरकार प्रदेशभित्रका सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान, संरक्षण तथा संवर्द्धन गर्दै विविधताबीचको एकता सुदृढ बनाउन प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।
प्रदेश स्थापना भएदेखि नै आफ्नो स्रोत र साधनले भ्याएसम्म विभिन्न जाति, समुदाय र धर्मका मौलिक चाडपर्व तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन र समावेशी समाज निर्माणका लागि सरकार निरन्तर क्रियाशील रहने बताएका छन् ।

























