
इलाम । तिहार सकिएसँगै जिल्लाका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दिएपछि किसान उत्साहका साथ खेतमा खटिएका छन् ।
मौसम अनुकूल भएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताए। उनका अनुसार स्थानीय किसान धान काट्ने, सुकाउने, बिटा उठाउने र थन्क्याउने काममा व्यस्त छन् ।
इधिङ्गोले यस वर्ष ४० रोपनीमा धानखेती गरेका छन् । धान पाकेपछि चरा र मुसाले नोक्सानी पुर्याउने भएकाले काट्न र थन्क्याउन ढिलाइ गर्न नहुने उनको भनाइ छ । स्थानीय किसान हस्तबहादुर पोख्रेलका अनुसार तिहारपछि लगातार घाम लागेपछि किसान धान काट्न व्यस्त भएका हुन् । टारी तथा फाँटमा लगाइएको धान पाकेर पहेँलपुर भएपछि अहिले किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ ।
जिल्लाको माङसेबुङ, चुलाचुली, माई र रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा धान काट्न थालिएको छ। ती क्षेत्रमा धान पाकेर खेत पहेँलपुर भएका छन् । इलामका किसानलाई कात्तिक अन्तिम सातादेखि मङ्सिरसम्म धान काट्ने र थन्क्याउने चटारो हुन्छ। यहाँ अझै पनि परम्परागत तरिकाले धान काट्ने र झार्ने चलन छ ।
वर्षभरि खाने मुख्य अन्नबाली भएकाले परिवारका सबै सदस्य धान थन्क्याउने काममा खटिएको अर्का किसान दिलकुमार लावतीले बताए । ‘हामीले वर्षभरि खाने मुख्य अन्नबाली धान नै हो । त्यसैले यतिबेला धान थन्क्याउन लागिपरेका छौँ,’ उनले भने, ‘धान थन्क्याएपछि पुनः अर्को बाली लगाउँछौँ ।’ यहाँका किसानले धान भित्र्याएपछि तोरी, फापर, आलु, गहुँ, मकै तथा तरकारी खेती गर्ने गर्छन् ।
इलाममा ११ हजार ६२ दशमलव ६४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा मुख्य रूपमा चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक धानखेती हुने गरेको छ । माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई र सन्दकपुर गाउँपालिका तथा देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा पनि धानखेती हुने कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
इलामका किसानले उन्नत जातका सावित्री र रञ्जितका साथै रैथाने चिराखे, भँगेरे, चुल्ठे, मन्सुली र रामधानलगायत जातका धान लगाउने गरेका छन् । समयमै रोपाइँ सकिएकाले विगतका वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिए ।



















