
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमण छोटो हुने भएको छ । भारतमा तीन दिन बिताउने चर्चा भइरहेका बेला उनको भ्रमण अवधि घटाएर करिब २५ घण्टामा सीमित गर्ने तयारी गरिएको छ ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनी भोलिपल्ट अर्थात् मंसिर ७ गते अपराह्न ४ः२० बजे सोही निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
निर्धारित तालिकाअनुसार नेपाली समयअनुसार ६ मंसिरमा अपराह्न करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री शाहले त्यहाँ साढे २५ घण्टा बिताउनेछन् । यद्यपि, भ्रमणको औपचारिक घोषणा र विस्तृत कार्यतालिका सार्वजनिक हुन बाँकी छ । भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गनेश पौडेल मंगलबार दिल्ली जाने बताइएको छ । भ्रमण तालिकामा केही परिवर्तन हुन सक्ने सम्भावना पनि छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेका द्विपक्षीय मुद्दामा केन्द्रित गर्ने तयारी छ । नेपालले भारतसँग अनुदान र सहुलियतपूर्ण ऋण गरी कुल २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको स्रोतहरूको भनाइ छ । प्रस्तावित सहयोगमध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अर्को १ खर्ब रुपैयाँ अनुदान रहेको छ ।
अनुदानस्वरूप प्राप्त हुने रकममध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा र अर्को ५० अर्ब रुपैयाँ बुटवल–पोखरा एक्सप्रेसवे निर्माणमा खर्च गर्ने नेपालको प्रस्ताव छ । यस विषयमा भारत सकारात्मक रहेको परराष्ट्र स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा नेपालले थप हवाई रुट उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राख्ने भएको छ । नेपालका प्रमुख सहर र भारतका दोस्रो तहका सहरबीच सिधा हवाई सेवा सञ्चालन गर्ने विषयमा समेत सहमति जुट्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, रक्सौल–काठमाडौं रेलमार्ग, अयोध्या–जनकपुर रेल सेवा र सीमापार पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा पनि छलफल तथा सम्भावित सम्झौताको तयारी छ । महाकाली सन्धि भएको तीन दशक बितिसक्दा पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई गति दिन नेपालले भारतसँग आग्रह गर्नेछ । यद्यपि, यस परियोजनामा बृहत्तर राजनीतिक सहमति आवश्यक रहेको भारतको धारणा छ ।
ऊर्जा र सिँचाइसम्बन्धी विषय पनि भ्रमणका महत्वपूर्ण एजेन्डा हुनेछन् । माथिल्लो तामाकोशीलगायत चिनियाँ ठेकेदार संलग्न आयोजनाबाट उत्पादित विद्युत् भारतले आयात गर्नुपर्ने नेपालको प्रस्ताव छ । त्यसैगरी, बंगलादेशमा थप विद्युत् निर्यातका लागि भारतले सहजीकरण गर्नुपर्ने र महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि भारतले १० क्युमेक पानी उपलब्ध गराउनुपर्ने विषय नेपालले उठाउने तयारी गरेको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री गनेश पौडेललगायत सहभागी हुनेछन् ।
नयाँ सरकार गठनलगत्तै प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । तर, गत सेप्टेम्बरको तेस्रो साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी अमेरिकाको न्युयोर्क पुगेका थिए । महासभालाई सम्बोधन गरेपछि तत्काल स्वदेश फर्किएका शाहले भारत भ्रमण पनि छोटो समयमै सम्पन्न गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीको दिल्ली बसाइ छोटो हुने भए पनि नेपालका एजेन्डा भने लामै छन् ।

























