इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ०९:५०

इलाम । इलामको माङसेबुङ गाउँपालिका-६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ ।

स्थानीय किसान प्रदीप राई १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन् । निरन्तरको मेहनत र अनुभवले उनलाई यस क्षेत्रका अगुवा टमाटर किसानका रूपमा स्थापित गरेको छ । गत वर्ष चार हजार ५०० बोट टमाटर लगाएका उनले बिक्रीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । उत्पादनको सुरुआतमा प्रतिकेजी ५० रुपैयाँ र सिजनको अन्त्यतिर ९० रुपैयाँसम्ममा टमाटर बिक्री गरेका थिए ।

यस वर्ष उनले खेती विस्तार गरी १५ रोपनी जमिनमा सात हजार ५०० बोट टमाटर लगाएका छन् । अहिले अगुवा बोटमा उत्पादन सुरु भइसकेको छ । यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने उनको अनुमान छ । हाल प्रतिकेजी ५० रुपैयाँका दरले टमाटर बिक्री भइरहेको छ । गत वर्षकै हाराहारीमा मूल्य कायम रहे सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

टमाटरखेतीबाटै घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी अर्की किसान मनिषा राईले गत वर्ष चार लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । उनले यस वर्ष पनि तीन हजार बोट टमाटर लगाएकी छन् । पूर्वकार्यपालिका सदस्यसमेत रहेकी राईका अनुसार टोड्केका अधिकांश किसानको घरव्यवहार टमाटरखेतीबाट हुने आम्दानीमा निर्भर छ ।

त्यस्तै, किसान विनोद राईले यस वर्ष पाँच हजार बोट टमाटर लगाएका छन् । यसअघि दुईदेखि तीन हजार बोटसम्म खेती गर्दै आएका उनले टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन् । बजार मूल्य राम्रो पाए आम्दानी पनि बढ्ने उनको अपेक्षा छ ।

टोड्के टोलका ८० घरपरिवार नै व्यावसायिक टमाटरखेतीमा संलग्न रहेको वडाध्यक्ष प्रदीप साङपाङले बताए। उनका अनुसार यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । टोड्केलाई टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए ।

अन्य अन्नबालीको तुलनामा टमाटरखेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । टमाटरखेती वर्षमा करिब छ महिना मात्र हुने भएकाले बाँकी समयमा मकै लगाउने गरिएको स्थानीय किसान बताउँछन् । फरक–फरक बाली लगाउँदा बाली चक्र कायम रहने र जमिनको गुणस्तर जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

टोड्केमा टमाटरको मुख्य उत्पादन असोजदेखि पुससम्म हुने गर्छ । रोपेको करिब ७० दिनमा फल दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म उत्पादन हुने किसानको अनुभव छ ।

यहाँ उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म पुग्ने गरेको छ । निर्माणाधीन बिपी मार्गको स्तरोन्नतिसँगै यातायात सुविधा सहज भएकाले बजारसम्म उत्पादन पुर्‍याउन सजिलो भएको स्थानीय किसान मनुकुमार राईले बताए । व्यापारीले बगानबाटै टमाटर खरिद गरेर लैजाने गरेकाले उत्पादन बिक्री नहुने चिन्ता नरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.