
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै निगमले पछिल्लो मूल्यअनुसार १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिए पनि मूल्य नबढाउने जानकारी दिएको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै सञ्चालक समितिले साविककै मूल्य कायम राख्ने निर्णय गरेको निगमले जनाएको छ।
निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ । यही कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले स्पष्ट पारेको छ ।
हाल काठमाडौंमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ छ ।



















