
सर्लाही । पक्राउ नै नपरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भन्दै फेसबुकमा गलत सूचना प्रकाशन गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नियन्त्रणमा लिइएकामा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन् ।
प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाताबाट र बैठाले आफूले सञ्चालन गर्दै आएको फेसबुक पेजबाट पक्राउसम्बन्धी गलत सूचना सार्वजनिक गरेका थिए ।
प्रहरीले पक्राउ नगरेका व्यक्तिबारे गलत विवरण सार्वजनिक हुँदा प्रहरीको कामकारबाहीप्रति सर्वसाधारणमा भ्रम र अन्योल सिर्जना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले जारी गरेको विज्ञप्तिमा दुवै जनामाथि थप अनुसन्धान भइरहेको उल्लेख छ ।
यसैबीच प्रहरीले कुनै पनि घटना, पक्राउ, अनुसन्धान तथा कारबाहीसम्बन्धी सूचना फेसबुकलगायत सामाजिक सञ्जालमा प्रकाशन वा सेयर गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा सूचना अधिकारीबाट विवरण पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

























