आज कुष्माण्ड नवमी, अमलाको पूजाअर्चना गरिँदै

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार ११:४७

काठमाडौ । आज (बुधबार) कुष्माण्ड नवमी। धार्मिक मान्यताअनुसार आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् । त्यसैले आज अमलाको विशेष पूजाअर्चना गरिन्छ ।

आजको दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ। यस दिन अमलाका साथै भगवान् विष्णुको विशेष पूजा गर्ने परम्परा छ ।

धर्मशास्त्रअनुसार आज भगवान् विष्णु र अमलाको वृक्षको पूजाअर्चना गरी अन्नलगायत सामग्री दान गर्दा अक्षय फल प्राप्त हुन्छ । यसैगरी, अमला र पीपलको विवाह गरिदिँदा पुण्य प्राप्त हुने र त्यसको फल जन्मान्तरसम्म रहने जनविश्वास छ ।

पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो । यही दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गरेकाले यस दिनलाई कुष्माण्ड नवमी भनिएको धार्मिक मान्यता छ । कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको विश्वासका आधारमा यस दिन कुभिन्डो दान गर्ने चलन पनि छ ।

आज कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा तथा तामाको भाँडोमा तिल राखेर दान गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.