
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोरेको हार अस्थायी भएकाले त्यसबाट पाठ सिकेर सुधारका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन् ।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन् । एघार वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताइन् ।
‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै सुधार गर्नुपर्ने पक्षलाई सुधार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् ।
सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै उनले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइन् ।
राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले अब आफूलाई कुनै पदप्रति आशक्ति नरहेको बताइन् । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पार्ने गतिविधि कसैले गर्न नहुने धारणा राखिन् ।
पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्यायका विषयमा पनि धारणा राख्दै उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र सङ्गठन सञ्चालनमा लागू गर्नुपर्ने बताइन् ।

























