
काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला बिहीबार काठमाडौंको कार्की बैंक्वेटमा २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीसँगै आवश्यक परे राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्ने संकल्प गरेको छ ।
भेलाले राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा तथा जनसरोकारका विषयमा सार्थक संवाद, सहकार्य र जनदबाबका लागि सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, सचेत नागरिक तथा बौद्धिक समुदायलाई आह्वान गरेको छ ।
भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने संकल्प गरौँ’, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि संकल्प गरौँ’ विषयमा धारणा राखेका थिए । उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताका पक्षमा गरेका महत्त्वपूर्ण कामबारे प्रस्तुति दिएका थिए भने महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे प्रशिक्षण दिएका थिए ।
अध्यक्ष ओलीले पार्टीले व्यहोरेको धक्का निर्वाचनको परिणामबाट मात्र नभई सरकार अपदस्थ भएदेखि नै सुरु भएको बताएका थिए । लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्ने उनको भनाइ थियो ।
भदौ २३ र २४ गतेका घटना तथा आफूहरूमाथि भइरहेको घेराबन्दी बुझ्न नसके राजनीति नै नबुझेको ठहरिने ओलीले बताएका थिए । पुनर्जागरणका लागि प्रतिबद्धता र संकल्पसहित जनतामाझ जान उनले अगुवा कार्यकर्तालाई निर्देशन दिएका थिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजित भेलामा देशभर र प्रवासबाट गरी तीन हजार ४१४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी थिए ।
पूर्णपाठ:-

























