एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १८:४१

काठमाडौं । नेकपा (एमाले) को बुधबार र बिहीबार काठमाडौंमा भएको राष्ट्रिय भेलामा कम्युनिस्ट पार्टीहरूबीचको सहकार्य र एकताको विषय प्राथमिकतामा परेन । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई पार्टीका दुई प्रमुख कार्यभारका रूपमा अघि सारिएको छ। तर, प्रदेशमा सत्ता सहकार्य गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग चुनावी तालमेल वा एकताबारे प्रतिवेदन मौन छ ।

ओलीले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई राष्ट्रिय स्वाधीनताविरुद्ध रचिएको अराजनीतिक तथा आपराधिक वितण्डाका रूपमा चित्रण गरेका छन् । आन्दोलनपछि गठन भएको सरकार र संसद् विघटनलाई असंवैधानिक घटनाको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्णायक आन्दोलनमा उत्रनुपर्ने बताएका छन् । यसका लागि राष्ट्रिय उद्देश्य मिल्ने सबै शक्ति, समूह र व्यक्तिसँग सहकार्य गर्नुपर्ने उनको जोड छ ।

प्रतिवेदनमा ओलीले दोस्रो कार्यभारका रूपमा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई राखेका छन् । गत फागुनको निर्वाचनमा पार्टीले ठूलो धक्का व्यहोरेकाले अबको चुनावका लागि अहिलेदेखि नै एकताबद्ध र योजनाबद्ध रूपमा लाग्नुपर्ने उनको भनाइ छ । यी दुई कार्यभार पूरा गर्न उनले कमजोरी स्वीकार गर्ने, जनजीविकाका सवालमा केन्द्रित प्रतिपक्षको भूमिका निर्वाह गर्ने, डिजिटल माध्यमबाट पार्टी पुनर्निर्माण गर्ने र संगठनलाई नतिजामुखी बनाउनेलगायत १५ वटा काम प्रस्ताव गरेका छन् । तर, अन्य कम्युनिस्ट घटकसँग सहकार्य वा एकताको विषय भने प्रतिवेदनमा समेटिएको छैन ।

जेनजी आन्दोलनका क्रममा सत्ताच्युत भएका ओली गत फागुनको निर्वाचनमा झापा–५ बाट वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसँग फराकिलो मतान्तरले पराजित भएका थिए । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ८५ हजार लोकप्रिय मतसहित दुईतिहाइ नजिक सिट जितेको थियो । यसअघि २०७०, २०७४ र २०७९ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको एमालेले २०८२ को निर्वाचनमा आधाभन्दा बढी मत गुमाउँदै करिब साढे १४ लाखमा सीमित भएको थियो। प्रत्यक्ष र समानुपातिक गरी २५ सिट जितेको एमाले संसद्मा तेस्रो दल बनेको छ ।

विगतमा माओवादी केन्द्र र नेपाली कांग्रेससँग चुनावी तालमेल तथा सत्ता सहकार्य गर्दै आएको एमाले पछिल्लो निर्वाचनमा एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। कम्युनिस्ट घटकहरू छुट्टाछुट्टै चुनाव लड्दा एमालेले प्रत्यक्षतर्फ २७ सिट गुमाएको थियो । निर्वाचनपछि गत साउन ९ गते एमाले र नेकपाबीच प्रदेशमा सत्ता सहकार्य गर्ने तीनबुँदे सहमति भएको थियो । दुवै दलका नेताले उक्त सहमतिलाई भविष्यमा पार्टी एकतासम्म पुग्ने आधारका रूपमा व्याख्या गर्दै आएका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसहित सबै कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा जोडिन अपिल गरिसकेका छन् । नेकपाको केन्द्रीय संयोजन समितिले पनि एमालेसहित अन्य कम्युनिस्ट घटकसँग सहकार्य र एकता गर्ने निर्णय गरेको छ । त्यसका लागि संगठन विभाग प्रमुख वर्षमान पुन सक्रिय छन् । एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि सहकार्यको विषयमा भूमिका खेलिरहेका छन् ।

एकीकृत समाजवादीसहित २५ घटकसँग एकता गरेर निर्वाचनमा गएको नेकपाले अपेक्षित परिणाम ल्याउन नसकेपछि आगामी स्थानीय तहको निर्वाचनमा विचार मिल्ने शक्तिसँग सहकार्यलाई प्राथमिकता दिएको छ । राष्ट्रिय जागरण अभियानका क्रममा गृहजिल्ला सल्यान पुगेका नेकपाका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा एमालेसँग चुनावी सहकार्य हुने बताएका छन् । बिहीबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रदेशमा सहकार्य भइसकेकाले अब चुनावी तालमेल पनि हुने बताएका थिए ।

तर, ज्वालाले तालमेलको मोडालिटी र सिट बाँडफाँटबारे छलफल सुरु भइनसकेको स्पष्ट पारेका छन् । तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनमा सहकार्यको परिणाम राम्रो आए एकताको बाटो खुल्न सक्ने संकेत गरेका छन् । उनका अनुसार एकताका लागि एमाले र अध्यक्ष ओली नै तयार हुनुपर्छ ।

एमाले र माओवादीबीचको विगतको एकता र सहकार्य भने लामो समय टिक्न सकेको थिएन । २०७२ सालमा ओली र प्रचण्डबीच पहिलोपटक सत्ता सहकार्य भएको थियो । २०७४ को निर्वाचनमा दुई दलले कम्युनिस्ट गठबन्धन बनाएर प्रतिनिधिसभामा दुईतिहाइ नजिक सिट जितेपछि ओली प्रधानमन्त्री बने । २०७५ जेठ ३ गते पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरिए पनि सत्ता र शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै पार्टी विभाजन भयो । त्यसपछि २०७९ को निर्वाचनपछिको सत्ता सहकार्य पनि लामो समय टिक्न सकेन ।

यही पृष्ठभूमिका कारण एमाले र नेकपाबीच तत्कालै पार्टी एकता हुने सम्भावना नरहेको दुवै दलका नेताहरू बताउँछन् । उनीहरू आगामी निर्वाचनसम्म सहकार्य गर्दै जाने र त्यसबीच आपसी सम्बन्धमा विश्वासिलो आधार बनेमा एकताको प्रक्रिया अघि बढ्न सक्ने बताउँछन् ।

एमालेको राष्ट्रिय भेलामा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पेस गरेका प्रतिवेदनमा पनि अन्य कम्युनिस्ट घटकसँगको सहकार्यभन्दा पार्टीको वैचारिक र सांगठनिक पुनर्गठनलाई प्राथमिकता दिइएको छ ।

यता, नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान मंसिर २५ गते सकिँदै छ । अभियानपछि बस्ने केन्द्रीय संयोजन समिति र केन्द्रीय कार्यसमिति बैठकमा समग्र अवस्थाको समीक्षा हुनेछ । सोही बैठकबाट एमालेसँगको सहकार्य र आगामी स्थानीय तहको निर्वाचनको तयारीबारे थप योजना बनाउने नेकपाको तयारी छ ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.