
विराटनगर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग ६ अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा पत्रकार सम्मेलन गरी भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ। त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेछ।
नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ। त्यसपछि जुन ९, ११ र १२ मा आयरल्यान्डसँगै तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ।
मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को सहकार्यमा हुन लागेको यो भ्रमणलाई नेपाल र एमसिसीबीचको बढ्दो साझेदारीको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। दुवै संस्थाले नेपालमा क्रिकेट विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन्।
एमसिसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा क्रिकेट सहभागिता तथा नेतृत्व विकासलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन भइरहेका छन्। एमसिसीका अनुसार गत वर्ष ती परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए।
पत्रकार सम्मेलनमा एमसिसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बलियो बनेको बताए। उनले नेपालमा क्रिकेटप्रतिको असाधारण लगाव आफूहरूले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै खेलले मानिसलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
क्यानका सचिव पारस खड्काले लर्ड्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए। एमसिसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा योगदान पुर्याएको उल्लेख गर्दै उनले बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र इङ्ल्यान्डका क्रिकेट निकायलाई सहयोगका लागि धन्यवाद दिए।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बंगलादेशजस्तो आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग लर्ड्समा खेल्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताए। उनले भ्रमण सम्भव बनाउन सहयोग गर्ने एमसिसी, इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी), बंगलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गरे।



















