
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । प्राधिकरणले सन् २०२७ को जनवरीदेखि मे महिनासम्म चौबिसै घण्टा (आरटिसी) विद्युत् आपूर्ति गर्ने गरी अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्न लागेको हो ।
प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् खरिदका लागि प्रक्रिया अघि बढाइएको छ । पछिल्ला केही वर्षयता सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले भारतको विद्युत् पावर एक्सचेन्जको डे अहेड मार्केट र रियल टाइम मार्केटबाट विद्युत् खरिद गर्दै आएको छ ।
यस वर्ष भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ, जसले गर्दा आगामी सुक्खायाममा विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।
प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते १५० मेगावाट विद्युत् खरिदका लागि व्यवस्थापनलाई सिफारिस गरेको थियो । समितिले अप्रिल र मे महिनामा माग बढ्ने भएकाले बजारको अवस्था हेरेर थप विद्युत् खरिद गर्न सकिने सुझाव दिएको छ । आगामी सुक्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना थपिने अपेक्षा गरिए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट ९० मेगावाट मात्र उत्पादन हुने अनुमान गरिएको छ ।
यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि दर प्रस्ताव माग गर्दा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले सबैभन्दा कम प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा प्रस्ताव गरेको थियो। असोज १६ गते आशयपत्र जारी गरिए पनि कम्पनीले भूराजनीतिक अनिश्चितता, इन्धनको मूल्यवृद्धि र भारतमा विद्युत् माग बढेको कारण देखाउँदै सम्झौता गर्न नसक्ने जनाएको थियो ।
भारतीय बजारमा गत असोजमा औसत मूल्य प्रतियुनिट नेपाली ११ रुपैयाँ ७४ पैसा पुगेको थियो । पुरानो दरमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो ।



















