
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनमा आयोगको जिम्मेवारी भए पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको रहेको बताए ।
‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ, तर त्यो सीमित छ,’ थापाले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ।’
राजनीतिक दललाई चिन्दिनँ र मान्दिनँ भन्दै अन्य समयमा सरकारको कामकारबाही चल्न सक्ने भए पनि निर्वाचनका बेला त्यस्तो हुन नसक्ने उनले बताए । निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्नेमा जोड दिँदै उनले संविधानले निर्वाचनसम्बन्धी व्यवस्था निर्दिष्ट गरेको उल्लेख गरे ।
निर्वाचनको खर्च र समयबारे सरकारले नै राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने र त्यसपछि दलहरूबीच सहमति जुटाउन संवाद हुनुपर्ने थापाको भनाइ थियो । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था टुङ्ग्याउन पनि आफूले सुझाव दिएको उनले बताए ।

























