
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताएकी छन् ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले एन्टिमाइक्रोबियल औषधिको अनियन्त्रित प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थपेको र उपचार खर्चसमेत बढाएको बताइन् ।
यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताइन् ।
कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गरिन् । यस अध्ययनले अस्पतालहरूमा औषधि प्रयोग र चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्याङ्क सङ्कलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन र प्रमाणमा आधारित नीति निर्माणमा पनि यसले सहयोग गर्ने विश्वास गरिएको छ ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधि प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।



















