
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलका शिक्षक तथा कर्मचारीले विद्यालयको शैक्षिक, प्रशासनिक र सेवा–सुविधासम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सामग्रीप्रति आपत्ति जनाएका छन् । विद्यालयको वास्तविक अवस्था नबुझी अपुष्ट सूचना र व्यक्तिगत धारणाका आधारमा संस्थाको प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको उनीहरूको भनाइ छ।
मंसिर ३ गते विद्यालयकै एक शिक्षकको गुनासो भन्दै फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षक तथा कर्मचारीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा निजी शैक्षिक संस्थाले आफ्नो क्षमता, योजना र आवश्यकताअनुसार कार्यविधि, सेवा तथा सुविधासम्बन्धी नियम निर्धारण गर्ने र नियुक्तिका क्रममा नै ती विषयमा छलफल तथा सहमति हुने उल्लेख गरिएको छ। विद्यालयमा कार्यरत आफूहरू सेवा–सुविधाप्रति सन्तुष्ट रहेको उनीहरूको दाबी छ।
विद्यालयमा एक दशकभन्दा लामो समयदेखि निरन्तर कार्यरत दर्जनौँ शिक्षक तथा कर्मचारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै समस्या वा गुनासो राख्दा विद्यालय सञ्चालक सधैँ सकारात्मक र सहयोगी रूपमा प्रस्तुत हुँदै आएको जनाइएको छ।
तलब, सुविधा, बोनस तथा अन्य कल्याणकारी व्यवस्था नियमानुसार हुँदै आएको स्पष्ट पार्दै शिक्षक–कर्मचारीहरूले सामाजिक सञ्जालमा अमुक व्यक्तिको नाममा सार्वजनिक गरिएको गुनासोमा विद्यालयमा कार्यरत कसैको संलग्नता नरहेको दाबी गरेका छन्। साथै, संस्थालाई कमजोर बनाउने उद्देश्यले बाह्य चलखेल भएको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्।
यसैबीच, विद्यालयका प्रिन्सिपलले पनि शुक्रबार छुट्टै विज्ञप्ति जारी गर्दै विद्यालयको वास्तविक अवस्था, गतिविधि र उपलब्धिबारे यथार्थ जानकारी नलिई अपुष्ट सूचना तथा कपोलकल्पित विषयका आधारमा प्रचार गर्नु दुःखद भएको बताएका छन्।
यस्ता गतिविधिले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा समुदायमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने प्रिन्सिपलको विज्ञप्तिमा उल्लेख छ।
विद्यालय परिवार शिक्षक तथा कर्मचारीको सेवा–सुविधा र वृत्ति विकासका विषयमा सधैँ संवेदनशील रहँदै आएको दाबी गर्दै प्रिन्सिपलले गलत प्रचारको विपक्षमा उभिएर शिक्षक–कर्मचारीले व्यक्त गरेको सहमति, सन्तुष्टि र ऐक्यबद्धताको सम्मान गरेका छन्।


























