ठेक्का तोडिएपछि अदालत पुग्यो निर्माण कम्पनी, मेची करिडोर फेरि अन्योलमा

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ०८:५१

इलाम । इलाम, पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रूपमा हेरिएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक) निर्माण फेरि अन्योलमा परेको छ। दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको सडक पाँच वर्ष बित्दासमेत आधा काम नभएपछि सरकारले ठेक्का तोडेको थियो। तर, निर्माण कम्पनी अदालत पुगेपछि सडक निर्माणको प्रक्रिया थप लम्बिने आशंका बढेको छ।

इलाम–झापा फास्ट ट्र्याकसमेत भनिने सडकको बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोड्ने सूचना गत कात्तिक १२ गते प्रकाशित गरिएको थियो। त्यस लगत्तै निर्माण व्यवसायीले निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका छन्। यसले नयाँ ठेक्का प्रक्रियासमेत प्रभावित हुन सक्ने चिन्ता स्थानीयमा बढाएको छ।

साढे ९ किलोमिटर लामो उक्त सडक निर्माणका लागि २०७८ असार २९ गते २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक रूपमा ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने आयोजनामा ३३ महिना म्याद थप गर्दा पनि हालसम्म भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ४५।२८ प्रतिशत मात्रै पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ।

पटक–पटक ताकेता र म्याद थप गर्दा पनि निर्माण व्यवसायीले काम पूरा नगरेपछि ठेक्का तोड्नुपरेको डिभिजनको भनाइ छ। निर्माण कम्पनीले असोज मसान्तसम्म सडक हिलोरहित बनाउँदै कालोपत्रे गर्ने प्रतिबद्धता जनाए पनि सामान्य हिलो पुर्नेबाहेक उल्लेख्य काम नगरेको जनाइएको छ।

ठेक्का तोडिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले आवश्यक स्रोत सुनिश्चित गरी नयाँ ठेक्का प्रक्रिया तत्काल अघि बढाउने आश्वासन दिएका थिए। तर, महिना दिन बित्न लाग्दासमेत नयाँ प्रक्रिया सुरु नभएपछि स्थानीय निराश हुन थालेका छन्।

माई नगरपालिकाका प्रमुख खम्बसिंह लिम्बूले सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेप्नुका साथै राज्यलाई समेत ठूलो आर्थिक क्षति भइरहेको बताए। उनका अनुसार यो सडक निर्माण भए तराई र पहाडी जिल्लाबीचको दूरी आधाभन्दा कम हुनेछ भने यात्रा समय, इन्धन खर्च र ढुवानी लागत घट्नेछ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले अन्य खण्डको निर्माण अन्तिम चरणमा पुग्दा बेलासे–गोलाखर्क खण्ड अलपत्र रहनु विडम्बना भएको बताए। जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले पनि निर्माणमा भएको ढिलाइले स्थानीयले ठूलो दुःख भोग्नुपरेको भन्दै तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउन माग गरेका छन्।

मेची राजमार्गको राजदुवाली खण्डमा बर्खायाममा पहिरो जाँदा इलाम, पाँचथर र ताप्लेजुङको तराईसँगको सडक सम्पर्क पटक–पटक अवरुद्ध हुँदै आएको छ। अघिल्ला वर्ष पहिरोका कारण महिनौँसम्म खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित हुनुका साथै कृषिउपजसमेत बजारसम्म पुर्‍याउन समस्या भएको थियो। वैकल्पिक मार्गका रूपमा रहेको मेची करिडोरसमेत हिलाम्य र अधुरो हुँदा यातायात सञ्चालन हुन सकेको थिएन।

पूर्वेली जिप तथा ट्याक्सी सेवा प्रालिका अध्यक्ष गृष्म सुब्बाले आगामी बर्खाअघि सडक सञ्चालनमा आउन नसके तीन जिल्लाका बासिन्दाले विगतभन्दा जटिल समस्या भोग्नुपर्ने बताए।

इलाम, पाँचथर र ताप्लेजुङको आर्थिक तथा यातायात विकासका लागि महत्त्वपूर्ण मानिएको यो सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयको वर्षौंदेखिको आशा निराशामा परिणत हुँदै गएको छ। अदालतको प्रक्रियासँगै नयाँ ठेक्का प्रक्रिया कहिले सुरु हुन्छ भन्ने अन्योल बढ्दा आगामी बर्खामा पनि तीन जिल्लाले उस्तै यातायात समस्या भोग्नुपर्ने जोखिम देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.