
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि प्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकदेखि हेलिकप्टर उडानको व्यस्त क्षेत्र बनेको छ । उद्धार, पर्यटक ओसारपसार, हिमाली दृश्यावलोकन, पर्वतारोहण तथा व्यावसायिक प्रयोजनका लागि दैनिक ठूलो सङ्ख्यामा हेलिकप्टर सञ्चालन भइरहेका छन् । तर पर्यटकीय गतिविधिसँगै बढेको हवाई चहलपहलले सुरक्षा जोखिमसमेत बढाएको छ ।
पछिल्लो एक दशकमा जिल्लाका विभिन्न क्षेत्रमा भएका हेलिकप्टर दुर्घटनाले यो जोखिम सामान्य नभएको देखाएका छन् । दुर्घटनामा मानवीय क्षति, चालकको मृत्यु, यात्रु घाइते हुने र हेलिकप्टर पूर्ण रूपमा क्षतिग्रस्त हुनेसम्मका घटना भएका छन् । कतिपय दुर्घटनामा प्राविधिक समस्या, प्रतिकूल मौसम, अवतरणस्थलको अवस्था तथा मानवीय र व्यवस्थापकीय कमजोरी देखिएका छन् ।
पछिल्लो पटक गत कात्तिक १७ गते खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भयो भने तीन जना घाइते भए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा ठोक्किएका थिए । दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको थियो भने न्युजिल्यान्डका एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भएका थिए ।
बिहान करिब ८ बजेर १२ मिनेटमा भएको उक्त घटनाले हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । फेरुचे क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रत्यक्ष सञ्चार पहुँचबाहिर पर्ने भएकाले त्यहाँ उडान तथा अवतरणका क्रममा चालकहरूबीच आपसी समन्वय महत्वपूर्ण हुन्छ। यद्यपि दुर्घटनाको वास्तविक कारण आधिकारिक अनुसन्धानबाट मात्रै पुष्टि हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले बताए ।
सोलुखुम्बुको आकाशमा हेलिकप्टर सञ्चालनको बढ्दो चाप, नियमनको प्रभावकारिता, कम्पनीबीचको व्यावसायिक प्रतिस्पर्धा र यात्रुको सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता यो घटनाले देखाएको छ ।
एक दशकमा पाँच प्रमुख दुर्घटना
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अभिलेखअनुसार २०७३ देखि २०८३ सम्म जिल्लामा भएका पाँच प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटनाले सुरक्षा चुनौती उजागर गरेका छन् ।
२०७३ असोज ९ गते जुभिङस्थित बुक्सामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेन्डमै इन्जिन बन्द भएपछि चालकले आकस्मिक अवतरण गराएका थिए । अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षतिग्रस्त भएको थियो। तर हेलिकप्टरमा सवार छ जना सकुशल रहेका थिए।
त्यस्तै, २०७९ असार २६ गते मनाङ एयरको हेलिकप्टर लामजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भयो। ९एन–एएमभी कलसाइनको उक्त हेलिकप्टरमा चालक क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिक सवार थिए । दुर्घटनामा सबै छ जनाको मृत्यु भयो । प्रारम्भिक विवरणमा प्रतिकूल मौसमलाई सम्भावित कारणका रूपमा औँल्याइएको थियो ।
२०७९ असोज २७ गते लोबुचेमा मनाङ एयरकै अर्को हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । ९एन–एएनजे कलसाइनको हेलिकप्टरमा चालक प्रकाशकुमार सेढाईं मात्रै सवार थिए । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । गम्भीर घाइते चालकलाई उद्धार गरी काठमाडौं हुँदै थप उपचारका लागि भारत लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भयो ।
यसैगरी, २०८२ कात्तिक १२ गते लोबुचे हेलिप्याडमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । लुक्लाबाट पर्यटक लिन गएको हेलिकप्टर हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर पल्टिएको थियो । चालक सकुशल रहे पनि हेलिकप्टरमा ठूलो क्षति पुगेको थियो ।
२०८३ कात्तिक १७ गते फेरुचेमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा आकाशमै ठोक्किए । दुर्घटनामा भारतीय पर्यटकको मृत्यु भयो भने अर्का एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भए । एउटै हेलिप्याडमा एकभन्दा बढी हेलिकप्टरको आवागमन व्यवस्थापन, सञ्चार समन्वय र अवतरणको प्राथमिकतासम्बन्धी व्यवस्थामाथि यस घटनाले प्रश्न उठाएको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको भनाइ छ ।
मौसम मात्रै दुर्घटनाको कारण होइन
नेपालको हिमाली भूगोलमा हेलिकप्टर उडान आफैँमा चुनौतीपूर्ण मानिन्छ । अग्ला हिमाल, साँघुरा उपत्यका, तीव्र गतिमा परिवर्तन हुने मौसम, हावाको चाप, हिमपात, कुहिरो र सीमित अवतरण क्षेत्रले उडानलाई जोखिमपूर्ण बनाउँछन् । तर सबै दुर्घटनाको कारण मौसमलाई मात्रै देखाएर उम्कन मिल्ने अवस्था छैन ।
लोबुचेमा सन् २०२५ अक्टोबर २९ मा भएको दुर्घटनाको सरकारी अनुसन्धान प्रतिवेदनले यसबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको विमान दुर्घटना अनुसन्धान निकायले सन् २०२६ मार्च २३ मा सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार उक्त दुर्घटनामा हेलिकप्टरमा प्राविधिक खराबी थिएन । हेलिकप्टर उडानयोग्य अवस्थामा रहेको र नियमित मर्मतसम्भारसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टरको स्किड असन्तुलित हुनु र त्यसलाई मिलाउने प्रयास गर्दा चालकबाट आवश्यकताभन्दा बढी नियन्त्रण प्रतिक्रिया हुनु दुर्घटनाको प्रमुख कारण रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ । प्रतिवेदनले लुक्लास्थित कम्पनीको सञ्चालन व्यवस्थापनमा समेत कमजोरी औँल्याएको छ । व्यस्त मौसममा आवश्यक जिम्मेवार कर्मचारी उपस्थित नहुनु, उडानपूर्व जोखिम मूल्याङ्कन व्यवस्थित नहुनु र चालकलाई मौसम तथा अवतरणस्थलको पर्याप्त जानकारी नदिनु दुर्घटनाका सहायक कारण रहेको उल्लेख छ । लोबुचेमा मौसम मापन केन्द्रसमेत नभएको र लुक्लाको हवाई ट्राफिक सेवा केन्द्रसँग प्रत्यक्ष रेडियो सञ्चार पहुँच नभएको प्रतिवेदनमा जनाइएको छ ।
खुम्बुमा नियमन र समन्वयको अभाव
सोलुखुम्बुमा भएका हेलिकप्टर दुर्घटनाले नागरिक उड्डयन प्राधिकरणको नियमन तथा अनुगमन प्रणालीमाथि पनि प्रश्न उठाएका छन् । विशेषगरी लुक्लाभन्दा माथिका फेरुचे, लोबुचे, गोरक्सेप र कालापत्थरलगायत क्षेत्रमा उडान तथा अवतरण गर्दा सबै स्थानमा हवाई ट्राफिक नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको चालकहरू बताउँछन् । कतिपय ठाउँमा चालकहरूले एकअर्कासँग सञ्चार गरेर उडान तथा अवतरण समन्वय गर्नुपर्ने बाध्यता छ ।
यस्तो अवस्थामा प्रत्येक हेलिकप्टरले आफ्नो स्थान, उडान दिशा, अवतरण गर्ने समय र अन्य हेलिकप्टरको गतिविधिबारे स्पष्ट जानकारी राख्नुपर्छ । तर एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन हुँदा प्रभावकारी सञ्चार तथा समन्वय प्रणाली नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्छ। फेरुचेको पछिल्लो दुर्घटनाले यही प्रश्नलाई सतहमा ल्याएको छ ।
लोबुचे दुर्घटनाको सरकारी अन्तिम प्रतिवेदनले नौवटा सुरक्षा सिफारिस गरेको छ । तीमध्ये व्यस्त मौसममा हेलिकप्टर कम्पनीले लुक्लाजस्ता आधार केन्द्रमा जिम्मेवार सञ्चालन कर्मचारी अनिवार्य उपस्थित गराउनुपर्ने, उडानअघि जोखिम मूल्याङ्कन गर्नुपर्ने, अवतरणस्थलको अवस्था र मौसमबारे चालकलाई विस्तृत जानकारी दिनुपर्ने तथा हेलिप्याडमा अवतरण सहयोगी कर्मचारीको व्यवस्था गर्नुपर्ने विषय छन् ।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले उच्च हिमाली क्षेत्रमा प्रयोग हुने हेलिप्याडको प्राविधिक मूल्याङ्कन गर्नुपर्ने, स्पष्ट देखिने मानक सङ्केत राख्नुपर्ने र हिउँ तथा उच्च हिमाली भूभागमा हेलिकप्टर सञ्चालनका लागि विशेष निर्देशिका तयार गर्नुपर्ने सिफारिस गरिएको छ ।
व्यावसायिक प्रतिस्पर्धाभन्दा यात्रुको सुरक्षा
सगरमाथा क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ आउने विदेशी पर्यटकमध्ये केहीले पदयात्रा गर्छन् भने केहीले हेलिकप्टरमार्फत हिमाली दृश्यावलोकन तथा आवागमन रोज्छन् । बिरामी तथा दुर्घटनामा परेका पर्यटकको उद्धारमा हेलिकप्टरको भूमिका अझ महत्वपूर्ण छ ।
तर यही क्षेत्र हेलिकप्टर कम्पनीहरूको व्यावसायिक गतिविधिको केन्द्र बन्दै जाँदा सञ्चालनमा आवश्यक अनुशासन र सुरक्षालाई प्राथमिकता दिनुपर्ने पर्यटन व्यवसायी तेम्बा छिरी शेर्पा बताउँछन् ।
स्थानीय समुदायले पनि खुम्बु क्षेत्रमा हेलिकप्टरको बढ्दो चापप्रति असन्तुष्टि जनाउँदै आएका छन् । हेलिकप्टरको आवाजले बस्ती, विद्यालय, वन्यजन्तु र राष्ट्रिय निकुञ्जको शान्त वातावरणमा असर परेको उनीहरूको गुनासो छ । पर्यटकलाई हेलिकप्टरबाटै ओसारपसार गर्दा स्थानीय गाइड, भरिया तथा पदयात्रासँग जोडिएका व्यवसायीको रोजगारीमा समेत असर पर्ने चिन्ता रहेको नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए ।
यसैबीच, सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय तहले सन् २०२५ डिसेम्बरमा दृश्यावलोकनका लागि हुने हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेका थिए । उद्धार उडानलाई भने छुट दिइएको थियो । यसले पर्यटन विकास, स्थानीय अर्थतन्त्र र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाएको छ ।
पर्यटनको प्रतिष्ठाका लागि सुरक्षित आकाश
नेपालको हिमाली पर्यटन अन्तर्राष्ट्रिय रूपमा परिचित छ । सगरमाथा क्षेत्रको आकर्षणले विश्वभरका पर्यटकलाई तानिरहेको छ । तर पर्यटकीय गन्तव्यको प्रतिष्ठा प्राकृतिक सुन्दरता र साहसिक अनुभवले मात्रै कायम हुँदैन । त्यहाँ उपलब्ध यातायात, उद्धार, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको विश्वसनीयताले पनि त्यसलाई निर्धारण गर्ने पर्यटनविज्ञ आङछिरिङ शेर्पा बताउँछन् । एकपछि अर्को हेलिकप्टर दुर्घटना भइरहने र दुर्घटनापछि मात्रै सुधारका प्रतिबद्धता व्यक्त गरिने हो भने नेपालको हवाई सुरक्षा प्रणालीप्रति अन्तर्राष्ट्रिय विश्वास कमजोर हुन सक्ने पर्वतारोही स्पीडकाजी शेर्पाको चिन्ता छ ।
नेपालमा सन् १९७९ यता कम्तीमा ४३ हेलिकप्टर दुर्घटना भएका छन् । तीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको विवरण छ । सरकारी तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रमा मात्रै आठ हेलिकप्टर दुर्घटना भएका छन् भने पाँच घटनामा मानवीय क्षति भएको छ ।



















