
जनकपुरधाम । भारतको अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री बोकेर आएको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सुरु गरिएको जनकपुरधाम–अयोध्या रेल सेवाअन्तर्गत पहिलोपटक आएको रेललाई जनकपुरवासीले भव्य स्वागत गरेका छन्।
सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्दा सरकारी अधिकारी, स्थानीयवासी तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै तीर्थयात्रीको स्वागत गरेका थिए। स्वागतका क्रममा तीर्थयात्रीलाई फूलमाला लगाएर सम्मानसमेत गरिएको थियो।
प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेपछि सरयू कमला एक्सप्रेस अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको थियो। रेलका १७ वटा डब्बामा एक हजारभन्दा बढी तीर्थयात्री आएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए।
जनकपुरधाम आइपुगेका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण र दर्शन गर्ने कार्यक्रम छ। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार अयोध्याबाट आएका श्रद्धालुका लागि मन्दिरमा दर्शन तथा पूजाको विशेष व्यवस्था मिलाइएको छ।
अयोध्या भगवान् रामको जन्मभूमि तथा माता जानकीको ससुराली हो भने जनकपुरधाम माता जानकीको माइती र भगवान् रामको ससुरालीका रूपमा परिचित छ। यस धार्मिक सम्बन्धलाई जोड्ने रेल सेवाले नेपाल र भारतबीचको सदियौँ पुरानो रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
जनकपुरधाममा स्वागत तथा दर्शन कार्यक्रमपछि तीर्थयात्री दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेसन फर्किने र खाजापछि दिउँसो १ बजे रेल अयोध्याका लागि प्रस्थान गर्ने तालिका रहेको पराजुलीले बताए। यस अवसरमा जनकपुरधाम रेल्वे स्टेसन तथा जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

























