
संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा धारणा राख्दै सांसद शाहीले ठेक्का रद्द गर्नुको कानुनी तथा प्रक्रियागत आधार स्पष्ट पार्नुपर्ने बताएका हुन्।
उनले ठेक्का प्रक्रिया सुरु भइसकेपछि संशोधन भएका ऐन तथा नियमावलीका कारण पुरानो ठेक्का रद्द गर्न मिल्ने वा नमिल्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने बताए। दुई, तीन वा पाँच वर्षसम्म सञ्चालन हुने बहुवर्षीय आयोजनाको कार्यान्वयनकै क्रममा कानुन संशोधन हुन सक्ने भन्दै त्यसैलाई आधार बनाएर पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाउनु कति उचित हुन्छ भन्ने प्रश्न उनले उठाए।
शाहीले ठेक्का रद्द गर्नुको कारण नियमावली संशोधन मात्रै हो वा सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियामा कुनै त्रुटि भएको थियो भन्ने विषय पनि स्पष्ट हुनुपर्ने बताए। प्राविधिक रूपमा छनोट भइसकेका कम्पनीहरूको आर्थिक प्रस्ताव नखोल्दै ठेक्का रद्द गरिएको विषयमा समेत उनले सम्बन्धित निकायसँग जवाफ मागे।
उनका अनुसार ठेक्का रद्द गर्दा राज्यको सार्वजनिक कोषमा पर्ने आर्थिक भार, आयोजनाको लागत वृद्धि, निर्माण सम्पन्न हुने समयावधिमा हुने ढिलाइ तथा निर्माण कम्पनीसँगको सम्झौता भंग हुँदा सिर्जना हुने आर्थिक दायित्वको समग्र मूल्यांकन आवश्यक छ।
विशेषगरी यसअघि पटेल–रमण जेभीसँग भएको सम्झौता भंग भएपछि उत्पन्न क्षतिपूर्ति, आर्थिक दायित्व असुलउपर तथा बैंक ग्यारेन्टीसम्बन्धी विषयमा स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ थियो। ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तक्षेप भएको भन्ने विषयसमेत उठेकाले त्यसको वास्तविकता सार्वजनिक गर्न उनले माग गरे।
बैठकमा शाहीले नियमावली संशोधनकै कारण पुराना ठेक्का रद्द गर्नुपर्ने अवस्था आए बहुवर्षीय आयोजनाहरूको निरन्तरतामाथि नै प्रश्न उठ्ने बताए। उनले ठेक्का रद्द गर्नुको वास्तविक कारण, कानुनी आधार र त्यसबाट पर्ने प्रभावबारे तथ्य तथा तथ्यांकसहित जवाफ दिनुपर्नेमा जोड दिए।
उनले ठेक्का रद्दबाट हुने प्रत्यक्ष आर्थिक नोक्सानीको मात्रै हिसाब गरेर नपुग्ने उल्लेख गर्दै आयोजना निर्माण गर्नुको मूल उद्देश्य पूरा हुन नसक्दा राज्य र नागरिकले व्यहोर्नुपर्ने समग्र क्षतिको समेत मूल्यांकन गर्नुपर्ने बताए।
शाहीले आयोजना निर्माणमा हुने ढिलाइले लागत बढाउनुका साथै त्यसबाट जनताले प्राप्त गर्ने लाभसमेत प्रभावित हुने भएकाले ठेक्का रद्द गर्ने निर्णय गर्दा दीर्घकालीन प्रभावलाई ध्यान दिनुपर्ने धारणा राखे।

























