
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युवलीबीच मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।
भेटमा दुईपक्षीय हित, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए । उनले आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
प्रदेशको आर्थिक समृद्धिका लागि सञ्चालित परियोजनालाई छिटोछरितो र प्रभावकारी रूपमा अघि बढाउन प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनमा सहयोग गर्न राजदूतसँग आग्रह गरे । नेपालको विशिष्ट भूबनावट र भौगोलिक संरचनाका कारण विपद्को जोखिम उच्च रहेकाले जनधनको क्षति न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
राजदूत डा. म्युवलीले विकास र समृद्धिका क्षेत्रमा कोशी प्रदेश सरकारले गरेका कामको प्रशंसा गरिन् । उनले स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगति समीक्षा गरी कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण वस्ती र आर्थिक सल्लाहकार मोहन सुवेदी सहभागी थिए । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भेटवार्ताबारे जानकारी दिएका हुन् ।

























