
विराटनगर । उद्योग, व्यापार र लगानीलाई प्रविधि, सीप तथा रोजगारीसँग जोड्ने उद्देश्यसहित उद्योग संगठन मोरङले नवौँ संस्करणको विराट एक्स्पो २०२६ आयोजना गर्ने भएको छ। आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरको डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोलाई यसपटक परम्परागत व्यापारिक प्रदर्शनीभन्दा फराकिलो व्यावसायिक मञ्चका रूपमा विकास गर्न लागिएको हो।
‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ मूल नारासहित आयोजना हुने एक्स्पोले उद्योग, व्यापार, कृषि, प्रविधि, स्टार्टअप, वित्तीय संस्था, शिक्षा तथा तालिम प्रदायक संस्थालाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य राखेको छ। संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार उद्यमीलाई लगानी र बजारसँग जोड्ने, उद्योगलाई नयाँ प्रविधि तथा व्यावसायिक साझेदारसँग परिचित गराउने र युवालाई सीप तथा रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्य एक्स्पोको छ।
यसपटक एक्स्पोलाई ‘लर्न, वर्क, बिल्ड, ग्रो, एक्सपान्ड, कनेक्ट, इन्भेस्ट, इन्फ्लुएन्स, डिस्कभर र एक्सपेरियन्स’ गरी १० वटा आयाममा विभाजन गरिएको छ। यसमार्फत विद्यार्थीलाई शैक्षिक तथा करियरसम्बन्धी जानकारी, युवालाई रोजगारी र सीपमूलक तालिम, नयाँ उद्यमीलाई लगानीको अवसर तथा सञ्चालनमा रहेका उद्योगलाई प्रविधि, आपूर्तिकर्ता र नयाँ बजारसँग जोड्ने योजना छ।
एक्स्पोमा स्वदेशका विभिन्न प्रदेशसँगै भारतलगायत अन्य देशका सम्भावित व्यावसायिक प्रतिनिधि, लगानीकर्ता तथा उद्यमीको सहभागिता गराउने तयारी छ। आयोजकका अनुसार कोशी प्रदेशका १४ जिल्लाका स्थानीय उत्पादन, घरेलु उद्योग तथा साना उद्यमलाई राष्ट्रिय बजारसँग जोड्दै नयाँ लगानी आकर्षित गर्ने एक्स्पोको अर्को महत्त्वपूर्ण उद्देश्य हो।
विराटनगरमा आयोजना हुने भए पनि एक्स्पोलाई स्थानीय स्तरमा मात्र सीमित नराखी राष्ट्रिय स्तरको व्यावसायिक मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको संगठनका अध्यक्ष राठीले बताए। कृषि, घरेलु उद्योग र साना उद्यमका उत्पादनलाई ठूलो बजारसम्म पुर्याउने तथा उद्योगी–व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा एक्स्पोलाई लिइएको छ।
उद्योग संगठन मोरङले २०५३ सालमा ‘कोशी महोत्सव’बाट औद्योगिक प्रदर्शनीको सुरुवात गरेको थियो। त्यसयता विभिन्न नाम र स्वरूपमा आठवटा संस्करण आयोजना गरिसकेको संगठनले यसपटक नयाँ अवधारणा र फराकिलो उद्देश्यसहित नवौँ संस्करण आयोजना गर्न लागेको हो। एक्स्पोलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी अवसर सिर्जना गर्ने व्यावसायिक इकोसिस्टमका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ।

























