
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका महिलाले स्थानीयस्तरमा पाइने वनस्पति प्रयोग गरेर साबुनलगायत नौ प्रकारका सरसफाइका सामग्री उत्पादन सुरु गरेका छन् ।
स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुलसीलगायत वनस्पतिबाट लुगा धुने साबुन, हर्बल साबुन, हात धुने झोल साबुन, सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेल उत्पादन गरिरहेका छन् ।
नगरपालिकाले स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले गत वैशाखमा निःशुल्क आधारभूत तालिम दिएको थियो । गाउँघरमै खेर गइरहेका वनस्पतिबाट सरसफाइका सामग्री बनाउन सकिने सीप सिकेपछि महिलाले उत्पादन थालेका हुन् । तालिममा सहभागी रेनुका चाम्लिङका अनुसार थप तालिम लिएपछि उनीहरूले लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्रीसमेत गर्न थालेका छन् ।
नगरपालिकाले यसअघि सञ्चालन गरेको अचार बनाउने तालिममा सहभागी रेनुकाले अहिले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहेकी छन् । नगरपालिकाबाट प्राप्त तालिम र सीपले चुलोचौकामा सीमित महिलालाई उद्यमतर्फ अघि बढ्न सहयोग पुगेको छ ।
तालिममा सिकेको सीपलाई व्यावसायिक बनाउन थालेका नौ जना महिलालाई नगरपालिकाले पुनः उच्चस्तरको तालिम दिएको उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिए । महिलाले हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह गठन गरेर साबुनलगायत सरसफाइका सामग्री उत्पादन गरिरहेका छन् ।
महिलाले उत्पादन गरेका सामग्री नगरपालिकाभित्रका सबै कार्यालय र विद्यालयमा अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताइन् । उद्यम गर्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै उनले उत्पादनलाई बजारको समस्या हुन नदिने बताइन्। कच्चा पदार्थ ढुवानीमा समेत नगरपालिकाले सहयोग गर्दै आएको उनको भनाइ छ ।
नगरपालिकाले उपलब्ध गराएको थप तालिमले साबुनको गुणस्तर सुधार र ब्रान्डिङ व्यवस्थित बनाउन सहयोग पुगेको उद्यमी महिलाको विश्वास छ । यसबाट उपभोक्तामाझ सामग्रीको माग क्रमशः बढ्ने उनीहरूको अपेक्षा छ ।
विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीसमेत रहेको नगरपालिकामा उत्पादित सामग्रीको बजार खोज्न टाढा जानुपर्ने अवस्था नरहेको स्थानीय व्यवसायीको भनाइ छ । दैनिक भक्तजन तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा यसअघि बाहिरबाट ल्याइएका सरसफाइका सामग्री प्रयोग गर्नुपर्ने अवस्था रहेकामा स्थानीय महिलाले उत्पादन थालेपछि सहज भएको नगरप्रवक्ता कमल गिरीले बताइन् ।



















