
प्रदेश प्रमुख नहुँदा प्रदेश सरकार र सत्तारुढ नेकपा एमाले दुवैलाई समस्या परेको छ । प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा सरकारले आवश्यक कानुन निर्माणका लागि केही अध्यादेश ल्याउने तयारी गरेको छ । तर अध्यादेश जारी गर्ने अधिकार प्रदेश प्रमुखमा रहने भएकाले सरकारको तयारी प्रभावित भएको छ ।
यता एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने विषयमा पनि छलफल र कसरत भइरहेको छ । पार्टीले नेतृत्व परिवर्तनको निर्णय गरे पनि मुख्यमन्त्री नियुक्ति र शपथग्रहण गराउने संवैधानिक जिम्मेवारी प्रदेश प्रमुखकै हुने भएकाले नयाँ प्रदेश प्रमुख नहुँदा प्रक्रिया अन्योलमा परेको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेश प्रमुख रिक्त हुँदा प्रदेशका काम गर्न कठिनाइ भइरहेको बताए । उनका अनुसार पार्टीले सरकारको नेतृत्व परिवर्तनबारे निर्णय गरे पनि त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा प्रदेश प्रमुखको अभाव बाधक बनेको छ ।
त्यस्तै, एमाले प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले पनि प्रदेश प्रमुख नहुँदा सरकारका काम प्रभावित भएको बताए । प्रदेशसभा अधिवेशन नचलेको अवस्थामा तत्काल आवश्यक काम गर्न अध्यादेश ल्याउन खोजिए पनि प्रदेश प्रमुखको पद रिक्त हुँदा समस्या भएको उनको भनाइ छ ।
नयाँ प्रदेश प्रमुख नियुक्ति वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने विषयमा राष्ट्रपति कार्यालयमा अहिलेसम्म औपचारिक प्रक्रिया अघि बढेको छैन । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिफारिससहितको कुनै पत्र राष्ट्रपति कार्यालयमा पुगेको छैन ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरकी अधिकृत निशा भट्टराईले पद रिक्त रहेको जानकारी संघीय सरकारलाई गराइसकिएको बताइन् । तर, नयाँ नियुक्ति वा कार्यवाहक जिम्मेवारी तोकिएको विषयमा केन्द्रबाट कुनै जानकारी नआएको उनले स्पष्ट पारिन् । उनका अनुसार कार्यालयमा प्रमाणीकरणका लागि कुनै फाइलसमेत आएको छैन ।
नेपालको संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । सोही व्यवस्थाअनुसार खापुङले २०७८ साल कात्तिक २५ गते नियुक्त भएर गत कात्तिक २४ गते पाँच वर्षे कार्यकाल पूरा गरेका हुन् । उनी पाँच वर्षको पूरा कार्यकाल बिताउने पहिलो प्रदेश प्रमुखसमेत हुन् ।
संविधानले प्रदेश प्रमुखको पद रिक्त भएमा वैकल्पिक व्यवस्था पनि गरेको छ । धारा १६५ को उपधारा (२) अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म राष्ट्रपतिले अर्को प्रदेशका प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ । तर, यसका लागि संघीय मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णय आवश्यक पर्छ ।
संविधानको धारा १६६ अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरूको नियुक्ति र शपथग्रहण, प्रदेशसभाको अधिवेशन आह्वान तथा अन्त्य, अध्यादेश जारी र विधेयक प्रमाणीकरणलगायतका काम प्रदेश प्रमुखको अधिकार क्षेत्रमा पर्छन् । त्यसैले सामान्य प्रशासनिक काम सञ्चालन भइरहे पनि महत्वपूर्ण संवैधानिक प्रक्रिया भने प्रभावित भएका छन् ।
यसैबीच, नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशले तीन जनाको नाम सिफारिस गरेको चर्चा सार्वजनिक भएको थियो । तर, पार्टीका प्रदेश अध्यक्ष चन्द्र राईले उक्त चर्चा असत्य रहेको बताएका छन् । उनका अनुसार पार्टीले प्रदेश प्रमुख नियुक्तिका लागि कुनै व्यक्तिको नाम केन्द्रमा पठाएको छैन ।
संघीय सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने वा कार्यवाहक जिम्मेवारी तोक्ने प्रक्रिया अघि नबढाउँदा कोशी प्रदेशमा सरकारी कामसँगै राजनीतिक नेतृत्व परिवर्तनको विषयसमेत अन्योलमा परेको छ ।

























