अन्तर्राष्ट्रिय हक्की कोर्समा सहभागी हुन थापालाई बिदाइ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १५:२१

विराटनगर । भारतको भोपालमा आयोजना हुने ‘टेक्निकल अफिसियल कोर्स लेभल–२’ मा सहभागी हुन मोरङका श्लोकमान सिंह थापालाई बिदाइ गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले एक कार्यक्रमका बीच शुभकामनासहित थापालाई बिदाइ गरेका हुन् । बिदाइका क्रममा सदस्यसचिव घोषले यस्ता अन्तर्राष्ट्रिय कोर्सबाट नेपाली हक्की खेलाडी तथा प्राविधिकले लाभ लिनुपर्ने बताए । भारतमा सिकेका ज्ञान, सीप र अनुभवलाई नेपाल फर्किएपछि व्यवहारमा उतार्न सके नेपाली हक्की क्षेत्रले फड्को मार्ने उनको विश्वास थियो ।

अन्तर्राष्ट्रिय हक्की फेडेरेसनको आयोजनामा हुने उक्त कोर्समा नेपालबाट थापा एक्ला सहभागी हुन् । उनी यसअघि लेभल–१ कोर्स पूरा गरिसकेका छन् । श्लोकमान सिंह थापा हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापाका छोरा हुन् ।

भारतको भोपालमा अहिले एसियाली महिला हक्की च्याम्पियनसिप ट्रफी प्रतियोगितासमेत आयोजना भइरहेको छ । प्रतियोगितामा एसियाका उत्कृष्ट ६ टोली सहभागी छन् । उक्त प्रतियोगिताको अवसरमा सञ्चालन हुने प्राविधिक कोर्समा सहभागी भएर थापाले अन्तर्राष्ट्रिय अनुभव र सीप हासिल गर्ने अवसर पाउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.