यौन हिंसासम्बन्धी विधेयकलाई पूर्णता दिन माग

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १६:३४

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अधुरो रहेकाले आवश्यक संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विधेयकमा पाँचवटा विषय सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित बुधबारदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित अन्तर्क्रियामा सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

महिला, कानुन र विकास मञ्च तथा इक्वलिटी नाउले आयोजना गरेको कार्यक्रममा प्रस्तावित विधेयकलाई आवश्यक सुधार गरी गुणस्तरीय बनाउन नसकिए भविष्यमा बन्ने कानुन पनि अधुरो हुने सांसदहरूको भनाइ थियो ।

नेकपार्टी (एमाले) की सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र नपुग्ने भन्दै विशेष सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले यौन हिंसासम्बन्धी अपराधमा कठोर सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।

छलफलमा सहभागी अन्य सांसदहरूले पनि यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिए । यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन बनाएर पछि पछुताउनुभन्दा व्यापक छलफलपछि प्रक्रिया अघि बढाउनु उचित हुने उनीहरूको भनाइ थियो ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मन्त्रालयले तयार पारेको विधेयकमा जबर्जस्ती करणी, वैवाहिक बलात्कार र हदम्यादसम्बन्धी व्यवस्था सुधार गर्न आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.