महिला क्रिकेटमा कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १७:०६

सुर्खेत । कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै कोशी प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा पहिलो जित निकालेको छ ।

बुधबार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको अर्धशतकको मद्दतमा १२५ रन बनाएको थियो । रुविनाले एक छक्का र नौ चौकासहित ५७ बलमा ६२ रन बनाइन् ।

कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजवंशीले १० र लकिता राजवंशीले नौ रन बनाए। विमला महला सात र फुलकुमारी राजवंशी छ रनमा अविजित रहे ।

कर्णालीका रमा बुढाथोकीले दुई तथा रविना बुढामगरले एक विकेट लिइन् ।

१२६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमा समेटियो । उसका लागि शिखा दवाडीले सर्वाधिक २०, सोविका शाहीले १२ र रमा बुढाथोकीले १० रन बनाइन् । किरणकुमारी कुँवरले नौ, गंगा खड्काले सात, सोना चन्दले सात, अञ्जु गुरुङले चार, रविना बुढामगरले तीन तथा जयन्ती चन्द र ओपनर रेखा सोनीले एक–एक रन बनाए ।

कोशीका लकिता राजवंशीले चार ओभरमा एक मेडन राख्दै पाँच रन दिएर तीन विकेट लिइन् । उनले कर्णालीको ब्याटिङ धराशायी बनाउने क्रममा प्लेयर अफ द म्याचको उपाधिसमेत पाइन् । कोशीकी निशा शाह र एलिशा खादियाले दुई–दुई तथा कप्तान रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कोशीले कर्णालीलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.