
काठमाडौं । जिल्ला अदालत काभ्रेपलान्चोकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पेस भएका प्रमाणबारे जानकारी गराउन आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले निवेदकले पेस गरेको प्रमाणबारे सुनारलाई जानकारी गराई प्रमाण बुझेको कागज अदालतमा पेस गर्न आदेश दिएको हो ।
यसअघि अदालतको अवहेलना र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।
रिट निवेदक मनीषा गौतमले अदालतमा तीन घण्टा लामो अडियो पेन ड्राइभमा राखेर प्रमाणका रूपमा पेस गरेकी थिइन् । तर, पछि बुझ्दा अदालतका कर्मचारीले तीन मिनेटको मात्रै अडियो रहेको बताएपछि उनले पुनः अडियोसहित निवेदन पेस गरेकी थिइन् ।
सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पेस भएका प्रमाणबारे सुनारलाई जानकारी गराएर कागज पेस गर्न आदेश दिएको गौतमले बताइन् ।

























