बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १७:१७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रमणबारे टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौँमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि जनाउँदै चारवटा विषयमा प्रश्न उठाएका हुन्।

ओलीले नेपाली सेनाको गार्ड अफ अनर नलिने तर भारतीय सेनाको गार्ड अफ अनर लिने भन्दै प्रश्न गरे। यस्तो व्यवहार हुँदासमेत प्रधानमन्त्रीको प्रशंसा भइरहेको भन्दै उनले कटाक्ष गरे।

त्यस्तै, भारत भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने महत्त्वपूर्ण विषयहरू नउठाइएको ओलीको आरोप छ।

‘बालेनको भारत भ्रमणमा उठ्नुपर्ने कुनै पनि कुरा उठेनन्,’ ओलीले भने, ‘ईपीजी, सीमा केही उठेनन्।’

ओलीले प्रधानमन्त्रीको भ्रमणका क्रममा ग्रेटर नेपालको नक्साको विषय पनि नउठाइएको भन्दै प्रश्न गरे। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको स्मरण गराउँदै ओलीले भारत भ्रमणका क्रममा उक्त विषय उठाउनुपर्ने बताएका हुन्।

‘ग्रेटर नेपालको नक्सा महानगरपालिकामा राख्नेले आमनेसामने हुँदा उठाउनुपर्ने होइन ?’ ओलीले प्रश्न गरे।

त्यसैगरी, ओलीले बालेनको भारत भ्रमण राजकीयभन्दा निजी भ्रमणजस्तो देखिएको टिप्पणी गरे। भ्रमणमा देश र राष्ट्रिय एजेन्डाले प्राथमिकता नपाएको उनको जिकिर थियो।

‘बालेनको भ्रमण निजी जस्तो थियो, देश र एजेन्डा थिएन,’ ओलीले भने, ‘राजकीय भन्न मिल्ने थिएन।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.