
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको र मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन् । निवेदनमा सापकोटालाई आफूलाई थाहा नभएका र झुटा विषयमा हस्ताक्षर गर्न दबाब दिइएको उल्लेख छ ।
निवेदनमा उल्लेख भएअनुसार, आफूलाई देखाइएको कागजमा लामो समयसम्म हस्ताक्षर गर्न अस्वीकार गरेपछि मुद्दा लगाएर जेल हाल्ने धम्की दिइएको सापकोटाको जिकिर छ । त्यसपछि आँखामा पट्टी र चश्मा लगाएर गाडीमा राखी अन्यत्र लगिएको पनि निवेदनमा उल्लेख गरिएको छ ।
सापकोटाले आफ्नो र परिवारको जिउज्यानको सुरक्षा गर्न, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही गर्न तथा गोपनीयताको हकसहित मौलिक हकको संरक्षण गर्न आयोगसँग माग गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आयोगमा निवेदन परेको पुष्टि गरेका छन् ।

























