
संखुवासभा । संखुवासभा खाँदबारीबाट चोरी भएको टेम्पोसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका–९ सार्की डाँडाका १८ वर्षीय हरि मंग्राती र सोही ठाउँका १९ वर्षीय किरण रम्तेललाई टेम्पो चोरी गरेको आरोपमा पक्राउ गरेको संखुवासभा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए ।
को २ ह १५५० नम्बरको टेम्पो खाँदबारी–८ विष्णेधारा टोलका हिराधन राईले घर अगाडि पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रवक्ता श्रेष्ठले बताए । बिहीबार राति ९ बजेतिर टेम्पो चोरी भएको सूचनाका आधारमा खोजीतलास गर्दा शुक्रबार खाँदबारीको भेडेटारस्थित सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
टेम्पो फेला परीपछि चोरीमा संलग्नहरुको खोजी र अनुसन्धानका क्रममा मंग्राती र रम्तेलको संलग्नता देखिएकाले उनीहरुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


















