
विराटनगर । दुई महिनादेखि रोकिएको कोशी प्रदेशसभाको बैठक शुक्रबार बस्दैछ । बैठकमा नेपाली काङ्ग्रेस सत्तापक्षमा बस्ने कि नबस्ने भन्ने विवाद भएको छ ।
नेपाली काङ्ग्रेसले १२ साउनै सरकारमा सहभागि हुने सहमति गरेको थियो । तर अझै सहभागि भएको छैन । सरकारमा सहभागी नभई बस्ने बैठकमा सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने विवाद देखिएको हो । काङ्ग्रेसका केही सांसदले भने बैठकमा अनुपस्थित हुनुपर्ने बताएका छन् ।
प्रदेशसभा बैठकमा काङ्ग्रेस सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने टुङ्गो नभएको काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ बताउँछन् । ‘हामी सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने भोलिको संसदीय दलको बैठकपछि टुङ्गो लाग्छ,’ तामाङ भन्छन्,‘ सरकारमा सहभागी हुने टुङ्गो छैन ।’
बिहीबार १ बजे काङ्ग्रेस संसदीय दलको बैठक बस्दैछ । कोशी तत्काल मन्त्रालय बढाउने सम्भावना पनि टरेको छ । शीर्ष नेतृत्वले हतार नगर्न भनेपछि प्रदेशमा मन्त्रालय बढाउने सम्भावना तत्कालका लागि टरेको हो ।
‘तत्काल मन्त्रालय बढाउने सम्भावना छैन, आवश्यकता अनुसार पछि हुनसक्छ,’ नेपाली काङ्ग्रेस सांसद भीम पराजुली भन्छन्,‘ पहिलेको सहमति अनुसार सरकारमा काङ्ग्रेस जान्छ ।’
प्रदेशमा हाल ९ वटा मन्त्रालय छन् । ती मध्ये नेपाली काङ्ग्रेसले भौतिक पूर्वाधार, पर्यटन वन तथा वातावरण, कृषि तथा सहकारी र स्वास्थ्य मन्त्रालय लिने सहमति पूर्व सहमति छ ।

























