
विराटनगर । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा पक्राउ परेकाहरुलाई प्रहरीले छाडेको छ ।
चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्ने १ सय ४३ जनालाई रथयात्राका क्रममा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाबाट चोरीका ५ वटा मोबाइल र चाँदीको एउटा बाला प्रहरीले बरामद गरेको छ ।
मोबाइल र बालाका धनी अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सम्बन्धित धनी सम्पर्कमा आएपछि जिम्मा लगाउने प्रहरीको तयारी छ ।
चोरीमा संलग्नविरुद्ध प्रहरीले कारबाही पनि अघि बढाउन पाएन । उजुरी नपरेका कारण कानुनी कारबाही अघि बढाउन नसकिएको र सबै जनालाई छाड्नुपर्ने अवस्था आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
प्रहरीले चोरीका मोबाइल र बाला साथबाट फेला परेकासहित ११ जना भारतीयलाई बुधबार साँझसम्म नियन्त्रणमै राखेको थियो । तर, साँझसम्म प्रहरीमा एउटा पनि उजुरी परेन ।
‘उजुरी नपरेपछि पक्राउ गरिएकालाई प्रहरीको नियन्त्रणमा राखिरहने कानुनी आधार भएन,’ बस्नेतले भने, ‘सबै जना छुटिसकेका छन् ।’ उनका अनुसार रथयात्राका क्रममा सुनको सिक्री चोरी भएको भनेर खोजीको माग गर्दै २ वटा निवेदन परेका छन् । प्रहरीले सुनको सिक्री भने फेला नपरेको जनाएको छ ।


















