
इलाम । दोस्रो इलाम गोल्डकप मंसिरको तेस्रो साताबाट सुरु हुने भएको छ ।
इलामको रेडहर्स फुटबल क्लबले मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर २२ देखि २९ सम्म हुने जानकारी दिएको हो ।
आयोजक समितिका साङ्गो योल्मोले मंसिर तेस्रो सातादेखि हुन लागेको प्रतियोगिताको तयारी सुरु भइसकेको बताए । उनले गत वर्ष भव्य र सम्य तरिकाले सम्पन्न भएको प्रतियोगिताको पहिलो संस्करणबाट सम्पूर्ण इलामेलीलगायत विभिन्न फुटबल प्रेमीबाट पाएको साथ सहयोगले यस वर्ष गर्न हौसला मिलेको बताए ।
मैदान बनाउनेको सुरुआत भइसकेको र प्रतियोगिता आयोजना गर्नका लागि अर्थको महŒवपूर्ण भूमि हुने भएकोले आर्थिक सहयोग जुटाउने काम भइरहेको बताउँदै, साङ्गो योल्मोले भने, ‘गत वर्ष पाएको सद्भाव, माया र कमिकमजोरीलाई केलाउँदै यस वर्ष गत वर्षको भन्दा भव्य गर्ने योजना रहेको छ । सबै जनाको साथ र सहयोगका कारण गत वर्षको भन्दा यस वर्ष पुरस्कार राशि दोब्बर वृद्धि गरेका छौं ।’
प्रतियोगितामा सहभागी हुने सम्भावित आठ टोलीको नाम आयोजकले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सहभागी हुने टिममा न्यूरोड टिम (एनआरटी), मच्छिन्द्र, थ्रिस्टार, संकटा, त्रिभूवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लब छन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गत वर्षको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख रुपैयाँ राशि प्राप्त गरेका थिए । प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।
गत माघमा सम्पन्न पहिलो संस्करणमा एनआरटीले टाइब्रेकरमा बिर्तामोड युनाइटेडलाई पराजित गर्दै उपाधि जितेको थियो ।























